काठमाडौं । आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । हरेक वर्ष मे ३ तारिखमा यो दिवश मनाउने गरिन्छ ।
यस वर्ष दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने रहेको छ । सन् १९९३ को संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने उल्लेख छ ।
नेपालमा प्रेस स्वतन्त्रतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ समेत जारी भइसकेका छन् ।
रिपोर्टर विदाउट बोर्डरले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२औं स्थानमा रहेको देखाएको छ ।
गत वर्ष नेपाल १०६औँ स्थानमा थियो । दक्षिण एसियामा नेपालको स्थान भुटान र माल्दिभ्सभन्दा पछाडि छ ।
नेपाल पत्रकार महासङ्घले राज्यबाट भएका प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा पत्रकार गिरफ्तारका घटना बढी देखिएको जनाएको छ ।