Saturday, 28, November, 2020

भोकालाई भोजन र विपन्नलाई राहत दिन निरन्तर खट्दै नेपाल शान्ती स्काउट र उपकार सेवा नेपाल

काठमाडौँ । कोरोना भाईरसको त्रास र नेपाल लक डाउनको यो समय सबैजना घर घरमा क्वारेन्टाइनमा बसिरहेका छन् । तर जसको घर छैन, जसको डेरा छैन उनिहरु भने भोकै बस्नुपरेको अवस्था छ । विशेषगरि गरिब र असाहायहरु पीडित त छन् । त्यसैगरि सडक बालबालिकाहरुको अवस्था पनि नाजुक छ । सबै होटल, रेष्टुरेन्ट बन्द हुदा उनिहरुलाई अत्याधिक समस्या परेको छ ।

यहि अवस्था देखेर नेपाल शान्ती स्काउट र उपकार सेवा नेपालले नियमित रुपमा समस्यामा परेकालाई खाना खुवाउने कार्य गरिरहेको छ । चैत्र ११ गतेदेखि शुरु गरेको सेवामा धेरै सडक बालबालिकाले राहत महशूस गरेको नेपाल शान्ती स्काउटका राष्ट्रीय आयुक्त दयाराम कार्कीले बताए । काठमाडौं, ललितपुर, भक्तपुरसम्म पुगि त्यस्ता असाहय मानिसहरुलाई खाना खुवाईरहेको उनले बताए ।

नेपाल शान्ति स्काउटका संस्थापक सुदन मरासिनीले दुबै संस्थाले दिनमा १ हजार बढिलाई खाना खुवाउदै आएको जानकारी दिए । त्यति मात्र नभई सरकारी अस्पतालमा बिरामी लिएर आउने बिरामी कुरुवालाई पनि खाना खुवाईएको मरासिनीले बताए ।

राजधानीको वीर अस्पताल, शिक्षण अस्पतालका बिरामी कुरुवालाई पनि खाना खुवाउन जाने गरिएको नेपाल शान्ती स्काउटका राष्ट्रीय आयुक्त दयाराम कार्कीले रियलपाटीलाई जानकारी दिए । काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा दिएकोमा पछिल्लो समय अन्य जिल्लाबाट पनि धेरै परिवार समस्यामा परेको जानकारी आएकाले धादिड जिल्लामा पनि खाद्यान्न राहत वितरण शूरु गरेको कार्कीले बताए ।

नेपाल शान्ति स्काउट र उपकार सेवा नेपालको संयुक्त सहकार्यमा उपत्यकाको विभिन्न क्षेत्रमा ज्याला मजदुरी गर्ने, घरबार विहिन, अशक्त र अनाथालयहरुमा रहेका व्यक्तिहरुलाई निरन्तर रुपमा खाना खुवाउने कार्य गर्दै आइरहेको छ । कोरोना भाइरसको प्रकोपले नेपालमा समेत प्रभाव पारी धेरै व्यक्तिहरुलाई खाना खान समेत नसक्ने परिस्थिति आइपर्दा ४० जनालाई खाना खुवाएर सुरुवात गरिएको यस अभियानबाट हाल दैनिक १००० जनाभन्दा बढि व्यक्तिहरुलाई निरन्तर खाना र खाजाहरु वितरण हुदैँ आइरहेको  र लकडाउन अवधिभर निरन्तर खाना वितरण गरिने पनि संस्थाले जानकारी दिएको छ ।

त्यसैगरि उपत्यकामा रहेका जनावर, पशुपक्षिंहरुको लागि समेत खानाको व्यवस्था गर्न विहान ५ बजेदेखि नै स्वयमसेवक, स्काउट माष्टर तथा स्काउटहरुको सक्रियतामा गहुँ, बिस्कुट, खानाहरु भित्रि र बाहिरी चक्रपथ क्षेत्र, पशुपति क्षेत्र, स्वयम्भू क्षेत्र, असन बसन्तपुर, थापाथली लगायत ५० भन्दा बढि क्षेत्रहरुमा वितरण गर्दै आइरहेकोे नेपाल शान्ति स्काउटले जनाएको छ ।  गाडीका चालक, सहचालक, सुरक्षाकर्मीलगाएतलाई पनि नेपाल शान्ती स्काउट र उपकार सेवा नेपालले सेवा गरिरहेको छ ।