Monday, 30, November, 2020

जब ललितपुरमा १३ इण्डोनेसियनमाथि अमानवीयता देखाईयो………

ललितपुर । विश्व स्वास्थ्य संगठनले अहिले आफ्नो मुलुकमा रहेका सबै राष्ट्रका नागरिकलाई आफ्ना नागरिकसरह व्यवहार गर्न भनेको छ। गैर कानुनीरुपमा बसेका विदेशीलाई पनि कोरोना महामारीभरि कुनै कानुनी कारवाही नगर्न, देश निकाला नगर्न आग्रह गरिएको छ।

तर धार्मिक कार्यक्रममा भाग लिन नेपाल आएका १३ जना इन्डोनेसियनलाई ललितपुरका टौखेलबासीले लखेटेपछि उनिहरु समस्यामा परेका छन् । कोरोना भाइरस फैलिनुअघि ७० दिन पहिले नै नेपाल आएका इन्डोनेसियन नागरिकहरु सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका थिए । उनिहरुलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ ।

सप्तरीको धार्मिक कार्यक्रममा भाग लिन नेपाल आएका १३ जना इन्डोनेसियनलाई कतै बस्न नदिइएपछि समस्यामा परेका छन् । प्रहरीका अनुसार उनीहरु मध्ये सात जना जनवरी २१ तारिखमा साउदी अरेबिया हुँदै काठमाडौं आएका देखिन्छन् । ६ जनाको समूह फेब्रुअरी ११ मा बैंकक हुँदै नेपाल आएका हुन् । अघिल्लो समूह फेब्रुअरी ८ मा सप्तरीको कन्चनरुप गएको देखिएको छ। पछिल्लो समूह पनि त्यहाँ पुगेर फेब्रुअरी १५ देखि १७ सम्म धार्मिक कार्यक्रम ’इस्तीमा’ मा भाग लिएको देखिएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रमुख टेक प्रसाद राइले बताए ।

उनीहरुलाई बुधबार सप्तरीबाट पास दिएर काठमाडौं पठाइएको थियो । बालाजु माछा पोखरीस्थित मस्जिदमा बस्ने योजना भएपनि स्थानीयले बिरोध गरेपछि उनीहरुलाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलस्थित मस्जिद र्पुयाएको थियो। बुधबार राति बालाजु प्रहरीले ती इन्डोनेसियनलाई इमाडोलस्थित जामे मस्जिदको शाखामा र्पुयाएको थियो । स्थानीयले विरोध गरी त्यहाँ पनि बस्न दिएनन् ।

त्यसपछि उनीहरुलाई बिहीबार महानगरीय प्रहरी बृत्त सातदोबाटोका प्रमुख मित्रबन्धु शर्माको टोलीले गोदावरी र्पुयाइएको थियो तर स्थानीयको दबाबपछि गोदावरीबाट पनि राति ९स्३० अन्तै लगिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । उनीहरुलाई गोदावरी भिलेज रिसोर्टमा क्वारेन्टाइन बनाएर राख्ने अनुमति दिएको महर्जनले बताए । उनका अनुसार उत्त भिलेज रिसोर्टमा करिब ५० जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । स्थानीयले उक्त ठाउँमा बस्न नदिने भन्दै तोडफोडमा उत्रिन खोजेको महर्जनले बताए ।

उनीहरुको स्वास्थ्य जाँच गरिएको र कुनै समस्या नरहेको प्रहरीले जानकारी दिएको छ । ७० दिन पहिले नै नेपाल आएका इन्डोनेसियन नागरिकलाई संकट बेला कतै बस्न नदिदा इन्डोनेसियासँगको सम्बन्ध बिग्रन सक्ने प्रहरीको गुनासो छ । स्थानीयहरुले उनीहरुलाई बस्न नदिएर धार्मिक सहिष्णुता बिगार्ने माहोल बनाएको प्रहरीको भनाइ छ ।

थाहै नदिइ प्रहरीले उनीहरुलाई ल्याएकाले अन्त पठाउनु परेको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले बताए । जिल्ला प्रशासन लगायत सबैसँग छलफल गरी उनीहरुलाई पठाएको श्रेष्ठले दाबी गरे ।

अहिले उनीहरुलाई गोदावरीबाट पनि अन्तै पठाइए पनि यसबारे प्रहरीले जानकारी भने गराएको छैन ।

विश्व स्वास्थ्य संगठनले अहिले आफ्नो मुलुकमा रहेका सबै राष्ट्रका नागरिकलाई आफ्ना नागरिकसरह व्यवहार गर्न भनेको छ।गैर कानुनीरुपमा बसेका विदेशीलाई पनि कोरोना महामारीभरि कुनै कानुनी कारवाही नगर्न, देश निकाला नगर्न आग्रह गरिएको छ। यस्तो बेलामा कोरोना महामारी भन्दा पहिल्यै नेपाल आएका विदेशीलाई सबैतिरबाट लखेटिनु मानवीयताहीन कार्य भएको प्रहरीको भनाइ छ ।