Thursday, 23, September, 2021

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनमा कोरोनाभाइरस संक्रमण

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

जोन्सनले ट्विटमार्फत गएको २४ घण्टामा आफूमा सामान्य लक्षणहरु देखिएको र जाँचपश्चात कोरोनाभाइरस पोजेटिभ पाइएको बताएका छन् ।

“म अहिले सेल्फ आइसोलेसनमा छु । तर, म भिडियो कन्फ्रेसमार्फत भाइरसविरुद्धको लडाइँमा सरकारको नेतृत्व गरिरहने छु”, जोन्सनले लेखेका छन् ।

बिहीबार मात्र बेलायतका युवराज चाल्र्समा पनि कोरोनाभाइरस संक्रमण देखिएको थियो । उनी हाल स्कटल्याण्डमा आइसोलेसनमा छन् ।

बेलायतमा अहिलेसम्म ११६५८ मा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५७८ को मृत्यु भइसकेको छ ।

जोन्सनले भर्खरै भिडियो सन्देशमार्फत आफूमा कोरोनाभाइरस संक्रमण देखिएको र अहिले घरैमा बसिरहेको बताएका छन् ।

सन्देशमा उनले भाइरसविरुद्ध लडिरहेका आफ्ना स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदैं सबै महामारीमा बेलायती जनतालाई एक भई जुटन आग्रहसमेत गरेका छन् ।

प्रधानमन्त्री जोन्सनकी पार्टनर क्यारी साइमण्ड्स अहिले गर्भवती छिन् । उनलाई पनि कोरोना संक्रमण भए, नभएको बारे केही खुलाइएको छैन ।