काठमाडौं । कोरोना भाइरसका विरुद्ध अफवाह फैलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा पक्राउ गरिएका पास्टर केशव आचार्यलाई विनाशर्त अविलम्ब रिहाई गर्नु पर्ने मानव अधिकारकर्मी जीवन रायमाझीले माग गरेका छन् ।
कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त बनेको समय र नेपाल पनि सोको न्युनिकरणमा लागि परेको अवस्थामा आ–आफ्नो धर्मको अभ्यास अनुसार प्रार्थना गर्दै गर्दा अफवाह फैलाएको आरोप लगाई पक्राउ गर्नु त्रुटिपूर्ण कार्य भएको उनले बताएका छन् ।
चर्चमा प्रार्थना गरेको भिडियोको अर्ध क्लिप बनाई सामाजिक सञ्जालमा सुनियोजित रुपमा फैलाएको अधिकारकर्मी रायभाझीले बताए । बेला बेला समाजिक सञ्जालमा अराजक कार्य गर्ने तत्वहरु पास्टरविरुद्ध लागेको अधिकारकर्मी रायमाझीको ठम्याइ छ ।
पास्टर आचार्यलाई पक्राउ गरि सामाजिक तथा धार्मिक सद्धभाव विथोल्ने र कानूनी राज्यको उपहास गर्ने काम राज्यबाट भएको उनको भनाई छ ।
यही चैत्र दस गते सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले जुम्ला स्थायी घर भई विगत एक दशक भन्दा लामो समयदेखि पोखरा महानगरपालिका वडा नं.२९ पावरहाउसस्थित प्रसस्त कट्नी चर्चमा पास्टरिय सेवकाइ गर्दै आएका आचार्यलाई अफवाहको आरोप लगाई पक्राउ गरेको हो ।
राष्ट्रिय ख्रीष्टियन महासंघले पनि एक विज्ञप्ती जारी गर्दै पास्टर केशव आचार्यलाई यथासिघ्र रिहाइ गर्न माग गरेको छ ।
विज्ञप्तीमा झुठो आरोपमा सोमबार पक्राउ परेका प्रशस्त कटनी मण्डलीका पास्टर केशव आचार्यलाई विनाशर्त अविलम्ब रिहाई गर्न नेपाल सरकार, राजनीतिक दल, सम्पूर्ण मानवअधिकारकर्मी, कुटनीतिक नियोग, नागरिक समाज, अन्तरधार्मिक समुदाय, पत्रकार मित्रहरु लगायत आम नागरिक समुदायलाई हार्दिक अपिल गरेको उल्लेख छ ।