Saturday, 25, September, 2021

कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर अफवाह फैलाउनेको खोजी गर्दै प्रहरी

काठमाडौं । कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान सुरु भएको छ ।’

उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिए ।

भाईरल भएको अडियोमा भनिएको छ :

‘नर्भिक हस्पिटल पुल्चोकमा ९ जनालाई कोरोना लागेको छ । तर, सरकारले यो लुकाउन खोजेको छ । मिडियामा आउँदैन । नेपालमा महामारी फैलिइसक्यो ।

सामाजिक सन्जालमा भाइरल भइरहेको  अडियो क्लिपमा ती व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् ।

नेपाल प्रहरीको साइबर व्यूरोका एसएसपी नबिन्द्र अर्यालले  पनि सो अडियोबारे अनुसन्धान भइरहेको बताए । सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।