Friday, 24, September, 2021

बिश्व महामारीको इतिहास : स्पेनिस फ्लूले लिएको थियो पाँच करोडको ज्यान

काठमाडौ । चीनको हुबेई प्रान्तको वुहानबाट गत वर्षको डिसेम्बरदेखि सुरू भएको कोरोना भाइरस यतिबेला विश्वभर फैलिएको छ । कोरोना भाइरस अहिलेसम्म  विश्वका ८४ देशमा फैलिइसकेको छ ।

जसका कारण १ लाख २ हजार १ सय ८० जना संक्रमित भएका छन् । संक्रमितमध्ये ५७ हजार ३ सय ८९ जना उपचारपछि संक्रमणमुक्त भएका छन् भने ३ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ ।

यो संख्या स्थिर वा घट्दो क्रममा नभई विश्वका विभिन्न देशमा फैलँदो मात्रामा रहेकाले संख्या बढिरहेको छ । संक्रमण रहेकामध्ये १० हजारभन्दा बढी बिरामीको अवस्था गम्भीर छ।

कोरोना भाइरसबाट चीन सबैभन्दा बढी प्रभावित बनेको छ । त्यसपछि दक्षिण कोरियामा ६ हजार ७ सय ६७, इरानमा ४ हजार ७ सय ४७, इटालीमा ४ हजार ६ सय ३६ संक्रमित छन् । यी मुलुकमा मृतकको संख्या पनि बढिरहेको छ । मृत्यु हुनेमा भने चीनपछि इरान दोस्रो नम्बरमा छ । जहाँ १ सय २४ जनाको मृत्यु भइसकेको आधिकारिक रूपमा पुष्टि भएको छ ।

इरानका उपस्वास्थ्यमन्त्री कोरोना भाइरस संक्रमित बनेका छन् भने एक सांसदको कोरोना भाइरसका कारण मृत्यु भएको छ । इरान, जापान, फ्रान्स, जर्मनी, सिंगापुर, हङकङ, अमेरिका, स्पेन, बहराइन, कुवेत, थाइल्यान्ड, ताइवान, बेलायत, अस्ट्रेलिया, मलेसिया, स्वीट्जरल्यान्ड, क्यानडा, यूएई, नर्वेलगायत ८४ देशमा कोरोना भाइरसको संक्रमण बढ्दो दरमा छ ।

कोरोना भाइरसको संक्रमण जुन गतिमा फैलिएको छ, त्यसले आकस्मिक रूपमा आइपर्ने महामारीसँग जुध्न विश्व तम्तयार अवस्थामा छैन भन्ने पुष्टि भएको छ ।

चीनले कोरोना भाइरसको उपचारका लागि वुहानमा ६ दिनमा एउटा र १० दिनमै अर्को १ हजार शय्याको अस्पताल र मास्क उद्योग नै खोले पनि त्यो पर्याप्त हुन सकेन । अन्य देशमा त्यो स्तरमा संक्रमण भएको पनि छैन र भएको संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्नमा समेत ढिलाइ भइरहँदा कोरोना भाइरस एक महामारीको रूपमा देखिएको छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले संकटकाल नै घोषणा गरेको छ । चीनका घना बस्ती भएका कतिपय शहरहरू मानवीय गतिविधि शून्य अवस्थामा पुगेका छन् भने अमेरिकाले आफ्ना नागरिकलाई कोरोना संक्रमित कतिपय देशमा जान रोक लगाएको छ ।

जापान र दक्षिण कोरियामा थप संक्रमण रोक्नका लागि स्कुल बन्द गरिएको छ, सार्वजनिक सभारसमारोह गर्न प्रतिबन्ध लगाइएको छ । नेपालमा कोरोना भाइरस संक्रमणको त्रासका कारण नेपाल भ्रमण वर्ष २०२० नै स्थगित गरिएको छ ।

गृह मन्त्रालयले चीनसहित हङकङ, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई ७ मार्चदेखि ३१ मार्चसम्म अनअराइभल भिसामा रोक लगाउने निर्णय गरेको छ ।

यो महामारी कसरी सुरू भयो भन्नेबारेमा विभिन्न आरोप प्रत्यारोप समेत चलेका छन् । चीनमा कोरोना भाइरस संक्रमण हुनुमा अमेरिकाको हात रहेकोसम्मका हल्ला भए । यस्ता कतिपय हल्लालाई पुष्टि गर्नुभन्दा पहिले यसको रोकथाम र नियन्त्रण प्रमुख चुनौती बनेको छ ।

यो महामारीका कारण विश्वमा ठूलो आर्थिक नोक्सानी भएको छ । सुनको भाउ आकाशिँदो छ भने विश्वमा कतिपय देशको शेयर कारोबारमा गिरावट आउँदा सन् २००८ पछिकै सबैभन्दा ठूलो आर्थिक मन्दीको अवस्था देखिएको छ ।

चीनमा त बजारमा पठाइएको नोटबाट समेत कोरोना भाइरस संक्रमणको डरका कारण निर्मलीकरण गरिएको छ । पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको छ, पूर्वाधार परियोजनाको काम ठप्प जस्तै बनेको छ ।

कोरोना भाइरस सुरूमा चमेरोबाट मानिसमा संक्रमित भएको भनिएपनि अहिलेसम्म प्रष्ट भइसकेको छैन । कोरोना प्रतिरोधी खोप बनाउन कोशिस भइरहेपनि सफलता हात परेको छैन ।

कोरोना भाइरस महामारीको रूपमा अघि बढेको छ । यद्यपि मानव इतिहासमा कोरोना भाइरस पहिलो महामारी होइन । संसारमा हालसम्म यस्ता महामारी निम्त्याउने दर्जनौँ संक्रामक रोगहरू फैलिएका छन् ।

स्वाइन फ्लू, हङकङ फ्लु, सार्स, इबोला, नोवल कोरोना भाइरसजस्ता सयौंको ज्यान लिएका स्वास्थ्य समस्यालाई महामारी भन्ने गरिन्छ । तर इतिहासमा लाखौँ मानिसको एउटै महामारीका कारण मृत्यु भएको पाइन्छ । ति मध्ये केही महामारी यस्ता छन् :

इबोला
सन् १९७६ मा पहिलो पटक कंगो र सुडानमा इबोला भाइरस देखियो । त्यसयता इबोला भाइरसका कारण सयौँ मानिसहरूले ज्यान गुमाउने गरेका छन् । अफ्रिकी मुलुकहरूमा देखिने गरेको इबोलाका कारण सन् २०१४ देखि २०१६ मा गिनी, सिएरा लियोन र लाइबेरिया नराम्ररी प्रभावित भए ।

गिनीमा २ हजार ५ सय ४३, लाइबेरियामा ४ हजार ८ सय ९ र सिएरालियोनमा ३ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका थिए । सो समयमा समग्रमा ११ हजार ३ सय २५ जनाको मृत्यु भएको थियो । त्यसपछि पनि इबोला भाइरसको जोखिम देखिँदै आएको छ ।

इबोला भाइरस संक्रमित भएका ९० प्रतिशतको मृत्यु हुने गरेको पाइएको थियो । गत वर्ष मात्रै कंगोमा ३३ जनाको मृत्यु भएको थियो । यो रोग देखिएदेखि हरेक वर्षजस्तो इबोला भाइरसको प्रकोप देखिँदै आएको छ ।

स्वाइन फ्लू
सन् २००९ मा नयाँ खालको इन्फ्लुएन्जा ए ९एचवानएनवान० फैलियो । अमेरिकामा पहिलो पटक देखिएको स्वाइन फ्लू विश्वभर फैलियो । स्वाइन फ्लू निकै खतरनाक भाइरसका रूपमा देखियो ।

यसबाट कति मानिसले ज्यान गुमाए भन्ने अहिलेसम्म पनि एकीन भएको छैन । नेपालमा समेत स्वाइन फ्लूको प्रभाव देखिएको थियो । तत्कालीन नेकपा एमालेका नेता रामनाथ ढकालको स्वाइन फ्लूका कारण मृत्यु भएको थियो ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार २००९ देखि २०१० सम्ममा अमेरिकामा मात्रै करिब ६ करोड प्रभावित बनेका थिए । स्वाइन फ्लूका कारण २ लाख ७४ हजार अस्पताल भएका थिए भने अमेरिकामा मात्र १२ हजार ४ सय ६९ जनाको मृत्यु भएको थियो ।

तर विश्वमा स्वाइन फ्लूका कारण दाबी गरिएको भन्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको बताइन्छ । विश्व स्वास्थ्य संगठनले सन् २०१० को अगस्टमा स्वाइन फ्लू महामारी समाप्त भएको घोषणा गरे पनि हरेक वर्ष स्वाइन फ्लूबाट हजारौँ मानिस बिरामी पर्ने गरेका छन् ।

सार्स
सन् २००२ को नोभेम्बरमा चीनको ग्वाङ्दोङ प्रान्तमा सिभियर एक्युट रेस्पाइरेटरी सिन्ड्रोम ९सार्स० रोग देखापर्‍यो । करिब ९ महिना विश्वभरसम्म रहेको सार्सका कारण ८ हजार ९८ जना प्रभावित बनेका थिए ।

सार्सका कारण ७ सय ७४ जनाको मृत्यु भएको थियो । सार्सको मृत्युदर पनि उच्च थियो र संक्रमितमध्ये ९।६ प्रतिशत मानिसको मृत्यु भएको थियो । सार्स चीन, ताइवान, सिंगापुर, क्यानडासहित २६ मुलुकमा फैलिएको थियो ।

हङकङ फ्लू
हङकङ फ्लू सबैभन्दा पहिले सन् १९६८ मा हङकङमा देखिएको थियो् । इन्फ्लुएन्जा ए प्रजातिको यो भाइरसको संक्रमण १७ दिनभित्रै अन्य मुलुकमा फैलिएको थियो भने तीन महिनामा सिंगापुर, भियतनाम हुँदै फिलिपिन्स, भारत, अस्ट्रेलिया, युरोप र अमेरिकासम्म फैलियो ।

२०औँ शताब्दीमा देखिएको यो तेस्रो महामारी थियो । त्यसअघि एसियल फ्लू सन् १९५७ मा देखिएको थियो भने सन् १९१८र१९ मा स्पेनिस फ्लू देखिएको थियो । यसको मृत्युदर ०.५ प्रतिशत थियो ।

हङकङ फ्लूबाट त्यहाँका १५ प्रतिशत अर्थात ५ लाख जनता प्रभावित बनेका थिए । विश्वभर हङहङ फ्लूबाट १० लाखभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । अमेरिकामा मात्रै ३३ हजार ८ सयको हङकङ फ्लूका कारण ज्यान गएको थियो ।

एसियन फ्लू
सन् १९५६र५७ मा देखिएको एसियन फ्लूबाट करिब २० लाखको मृत्यु भएको थियो । चीनको गुइझाउ प्रान्तमा सबैन्दा पहिले देखा परेको एसिन फ्लू सिंगापुर, हङकङ हुँदै अमेरिकासम्म पुगेको थियो । अमेरिकामा मात्र एसियन फ्लूबाट करिब ७० हजारको मृत्यु भएको बताइन्छ ।

स्पेनिस फ्लू
सन् १९१८ देखि १९२० को बीचमा फैलिएको एन्फ्लुएन्जा स्पेनिस फ्लू विश्वको एकतिहाइ जनसंख्यामा संक्रमित भएको थियो । २० प्रतिशत मृत्युदर रहेको स्पेनिस फ्लूका कारण विश्वमा ४ देखि ५ करोड मानिसको मृत्यु भएको थियो ।

रसियन फ्लू
सन् १८८९ मा देखिएको रसियन फ्लूको महामारीका कारण विश्वभर १० लाख मानिसको मृत्यु भएको थियो । यो महामारी रूसको साइबेरियाबाट सुरू भएको थियो । त्यसपछि मस्को, कजाकस्तान, फिनल्यान्ड, पोल्यान्ड हुँदै युरोप, अफ्रिका र अमेरिकासम्म रसियन फ्लूको संक्रमण देखिएको थियो ।

ब्ल्याक डेथ ९प्लेग.
युुरोपमा अक्टोबर, सन् १३४७ मा देखिएको यो महामारी युरोप, अफ्रिका र एसियासम्म फैलिएको थियो । ब्ल्याक डेथ ९प्लेग.लाई हालसम्मकै ठूलो महामारीका रूपमा समेत लिइन्छ । युरोपमा यो महामारीका कारण ३० देखि ६० प्रतिशतसम्म मानिसको मृत्यु भएको थियो ।

१४औं शताब्दीमा यो रोगका कारण विश्वको जनसंख्याको एकतिहाइको मृत्यू भएको थियो । विश्वमा त्यसबेला ४७ करोड जनसंख्या रहेको अनुमान गरिएको थियो । जसमध्ये एकतिहाइ अर्थात् १५ करोड ६६ लाखभन्दा बढीको मृत्यु भएको थियो । जुन जनसंख्या पूर्ति गर्नका लागि २ सय वर्ष लागेको थियो । यसले एक दिनमै ५ हजार जनासम्मको ज्यान लिएकोे थियो ।