Friday, 23, April, 2021

जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सांसद सिलवालबाट २५ लाख सहयोग

ललितपुर । प्रतिनिधि सभा सांसद नवराज सिलवालले गोदावरी नगरपालिका वडा नं ३ राम मन्दिरमा निर्माण हुन लागेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र्रलाई २५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । सांसद सिलवालले संसद विकास कोषबाट २५ लाख सहयोग गर्ने बताएका हुन् ।

सांसद सिलवालले धर्मका माध्यमबाट विकास निर्माणका कार्य हुनु अति नै राम्रो कार्य भएको बताउदै यस प्रकारको कार्यमा आफ्नो सदैव साथ सहयोग रहने प्रतिवद्धता जाहेर गरे ।

महायज्ञ मुल समारोह समितीका अध्यक्ष राज घिमिरेले सहयोगी दाताहरुको दानबाट प्राप्त रकमले छिट्टै जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण हुने बताए । केन्द्र निर्माण हुने स्थलको नापी तथा ईञ्जिनियरबाट जग्गाको नापजाँच समेत भईसकेको उनले बताए ।

समाजको लागि केही गरौ भन्ने भावनाका साथ पवित्र उद्देश्य लिइ महायज्ञको आयोजना गरिएको बताउदै यसमा सबैलाई सकेको सहयोग गर्न उनले आग्रह पनि गरेका छ्न् । मानव सेवाभन्दा ठूलो सेवा अरु केहि नहुने भन्दै बृद्धवृद्धा आमाबाबु कसैले पनि जीवनको उत्तरार्दमा दुःख नपाउन् भनेर सहयोगार्थ महायज्ञको शुभारम्भ गरेको बताए ।