Friday, 23, April, 2021

“जेष्ठ नागरिक दिवा सेवा केन्द्र”भवन निर्माण गर्ने उद्धेश्यले गोदावरीमा महायज्ञ

ललितपुर । ललितपुरको गोदावरी नहरस्थित राम मन्दिरपरिसरमा“जेष्ठ नागरिक दिवा सेवा केन्द्र”भवन निर्माण गर्ने उद्धेश्यले महायज्ञ शुभारम्भ गरिएको छ । ललितपुरका प्रदेश सांसद राजकाजी महर्जन र  लालकुमारी पुनले बुधबार दिप प्रज्वलन गरेर महायज्ञको विधिवत उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर क्षेत्र नं.१(क)वाग्मती प्रदेश सभा सांसद लालकुमारी पुनले जेष्ठ नागरिकको लागि साहाराको आवश्यकता पर्ने र त्यो साहारा यो भवन बनेपछि जेष्ठ नागरिकले प्राप्त गर्ने हुँदा यो महान् कार्यमा आफ्नो साथ र सहयोग रहने बताईन् । उनले भवन बनाउन प्रदेश साम्सदबाट  बजेट विनियोजन हुनेमा ढुक्क रहन आग्रह समेत गरिन् ।

ललितपुरकै प्रदेश सांसद राजकाजी महर्जनले धार्मिक कार्यक्रमको माध्यमबाट सामाजिक काम गर्न लागेकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले सप्ताह मुल समारोह समितीका अध्यक्ष राज घिमिरेलगायतलाई महान् कार्यको शुभारम्भ गरेकोमा बधाइका साथै शुभकामना दिदै यो काम पूरा गर्न प्रदेश सरकारबाट पनि सहयोग रहने प्रतिबद्धता जनाए ।

समितीका अध्यक्ष राज घिमिरेले समाजको लागि केही गरौ भन्ने भावनाका साथ पवित्र उद्देश्य लिइ सप्ताह महायज्ञको आयोजना गरिएको बताए । यसमा सबैलाई सकेको सहयोग गर्न उनले आग्रह पनि  गरेका छ्न्  । मानव सेवाभन्दा ठूलो सेवा अरु केहि नहुने भन्दै बृद्धवृद्धा आमाबाबु कसैले पनि जीवनको उत्तरार्दमा दुःख नपाउन् भनेर सहयोगार्थ महायज्ञको शुभारम्भ गरेको बताए ।

महायज्ञलाई धूमधामकासाथ सम्पन्न गर्न समिति खटिरहेको अध्यक्ष मनोहर सिलवालले बताए । फागु पूर्णिमाको अवसरमा आध्यात्म चिन्तनद्धारा राष्ट्र शान्ति, लोक कल्याण, समस्त जीवात्माहरुको शुख शान्ति एवं ज्ञात, अज्ञात आत्माहरुको मोक्ष प्राप्तिको लागि श्रीराम मन्दिर परिसरमा आयोजित श्रीमद् भागवद् महापुराणको कथा वाचन श्रवण गर्न कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिन सम्पूर्ण महानुभावलाई अनुरोध गरिएको अध्यक्ष शिलवालले रियलपाटीलाई बताए ।

वाग्मती प्रदेश सदस्य एवं युवा नेता नवराज ढुंगाना(विश्वास)ले “जेष्ठ नागरिक दिवा सेवा केन्द्र”भवन निर्माण गर्ने महान उद्धेश्यले महायज्ञको शुरुवात हुनु आफैमा महान् कार्य रहेको बताए । उनले “मेहनतले कमाएर दिएको तपाईको सहयोग, गर्छौ हामी सहि सदुपयोग“ भन्ने जुन नारा लिएर महायज्ञको शुरुवात गरिएको छ त्यसले अवश्य सार्थकता पाउनेमा आफु विश्वस्त रहेको बताए । यसमा आफ्नो तर्फबाट पनि साथ र सहयोग रहने प्रतिवद्धता उनले जनाए ।

नयिका करिश्मा मानन्धरले गोदावरीको विकाश निर्माणका लागि यस्ता धार्मिक अनुष्ठानको माध्यमबाट आध्यात्मिक प्रचारका साथै मानव सेवा रहने बताउँदै यस पवित्र कार्यमा आफ्नो पनि सहयोग रहने बचनवद्धता व्यक्त गरिन् ।

महायज्ञमा समाजसेवी सुदन सिंह सिल्वाल, अधिबक्ता बिजय सिल्वाल, रामेश्वर सिल्वालले संयुक्त रुपमा राम मन्दिरमा जेष्ठ नागरिक दिवा सेवा बनाउन ५१ हजार दान गरेका छन् ।

त्यसैगरि, गो न पा १ निवासी समाजसेवि जगनाथले जेष्ठ नागरिक भवन निर्माणको लागी लाग्ने सामाग्री मध्य १,०१,००० ( एक लाख एक हजार ) बराबरको आज सम्मकै ठुलो घोषणा स्वरुप निर्माण सामाग्री प्रदान गर्ने बचन दिएका छ्न ।

फागुन २१ गतेदेखि शुरु भएको महायज्ञ फागुन २९ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा सुश्री अनुराधा शास्त्रीजी, मुमुक्ष उद्धव शर्मा लगायतका ख्यातिप्राप्त कथावाचकहरुबाट हिन्दु धर्मका धार्मिक प्रवचन, श्रीमद्भागवत पाठ वाचनलगाएतका विविध धार्मिक कार्यक्रम सञ्चालन भईरहेको छ ।