Wednesday, 09, June, 2021

जब हार्वर्ड विश्वविद्यालयमा भिजिट नेपाल २०२० को चर्चा भयो….

बोस्टर्न । एसिया र अन्तर्राष्ट्रिय सम्बन्धका लागि हार्वर्ड आयोजना विषयक अन्तर्राष्ट्रिय कार्यक्रममा भिजिट नेपाल २०२० बारे जानकारीमुलक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सहभागी नेपालीहरूले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा भिजिट नेपालबारे स्टल नै राखेर प्रचार प्रसार गरेका हुन् ।

फेब्रुअरी १४ देखि १७ सम्म अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा जापानमा अध्ययनरत नेपाल सरकारका शाखा अधिकृतद्वय विवेक घिमिरे र चन्द्रिका पण्डित तथा नेपालबाट सनिल श्रेष्ठ सहभागी भएका थिए ।

विश्वका विभिन्न ७० देशबाट चार सय ५० जनाको सहभागिता रहेको कार्यक्रममा संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) का निर्देशक, हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा नीति तहका उच्च अधिकारीको सहभागिता रहेको सहभागी नेपालबाट सहभागिता जनाएका सनिल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम स्थलमा नेपाली खाना खुवाउनुका साथै भिजिट नेपालको लोगोसहितका प्रचार सामाग्रीहरूको प्रदर्शनी गरिएको श्रेष्ठले बताए ।

नेपालका सहभागीहरूले नेपालको कला, सस्कृती तथा भौगोलिक अवस्थासँगै दक्षिण एसियाको भौगोलिक र राजनीति अवस्थाबारे छलफल तथा बहस गरेको उनले जानकारी दिए । विभिन्न देशका नागरिकहरु नेपाली कला संस्कृतिबारे चासो राखेको सहभागी नेपालीहरु बताउछन् ।

विदेशीहरुलाई भिजिट नेपाल २०२० बारे जानकारी दिंदा उनिहरु नेपाल घुम्न आउन ईच्छुक रहेको बताएको श्रेष्ठले रियलपाटीलाई जानकारी दिए ।

अन्य देशको तुलनामा नेपालले राखेको स्टल फरक र आकर्षक रहेकाले पनि विदेशीहरु नेपालको स्टल प्रदशर्नी हेर्न धेरै मात्रमा सहभागी भएको उनको भनाई छ ।