Friday, 07, May, 2021

सिसडोलबासीको चेतावनी : बन्चरे ल्यान्डफिल साइटको निर्माण रोक्ने (भिडियोसहित)

आफुहरुले राखेको माग पूरा नभए निर्माणाधीन बन्चरे ल्यान्डफिल साइटको निर्माण रोक्ने र सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने स्थानियले चेतावनी दिएका छन् ।
सरकारले फागुनदेखि बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । काठमाडौं उपत्यकासँगै धादिङ र नुवाकोटको समेत फोहोर विसर्जनका लागि निर्माण हुँदै गरेको ल्याण्डफिल्ड साइटको कामबारे बुझ्न राज्यमन्त्री मानन्धरसँगै काठमाडौै महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनसहित उपत्यकाका १८ वटै नगरपालिकाका प्रतिनिधि शुक्रबार अनुगमनमा पुगेका थिए । टोलीलाई घेरेरै स्थानियले आफ्नो माग राखे ।
सिसडोल बन्चरेडाडा सरोकार समितीका अध्यक्ष बिश्वास ढुंगानाले भने – “१४ बर्षदेखि सिसडोलमा उपत्यकाको ४० लाख मान्छेहरुको फोहोर मानव बस्तीको माझमा ल्याएर थुपारिएको छ तर पनि हामी रोगी भएरै सहेर बसेका छौं । फोहोर र मान्छे दुनियामा कुनै राष्ट्रमा संगै बस्न सक्दैनन । तर हामी स्थानिय फोहोरसंगै बाँचिरहेका छौं । सरकारले समाधानको बाटो अपनाउला भनेर प्रतिक्षा गरेका थियौं तर सकारात्मक कदम उठाएको छैन । फोहोर विसर्जन गर्न दिएबापत सरकारले  अस्पताल, विद्यालयलगाएत निर्माण गरिदिने बाचा गरेको थियो तर अहिले कुनै किसीमको पहल भएको छैन ।

मन्त्री र जनप्रतिनिधिसहितको टोलीसँग स्थानीय वासिन्दाले आफ्ना माग सम्वोधन नभएसम्म काम अघि बढाउन नदिने चेतावनी दिएका छन् ।

‘पटक–पटकको छलफलपछि हामी अहिले बञ्चरेडाँडामा आधुनिक र वैज्ञानिक ढंगको सेनिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्ने अवस्थासम्म आएका छौँ,’ मेयर शाक्यले भने, ‘अब यो काम सम्पन्न गर्न काठमाडौँ महानगरपालिका मात्रै होइन उपत्यकाका सबै स्थानीय तहसँगै धादिङ र नुवाकोटको पनि सहयोग आवश्यक छ । संघ र प्रदेश सरकारको पनि उत्तिकै सहयोग आवश्यक छ ।’

उनले आफूहरु स्थानीयको माग संबोधन गरेर काठमाडौंको फोहोर व्यवस्थापन गर्ने पक्षमा रहेको बताए । मेयर शाक्यले केही महिनाभित्रै बञ्चरे डाँडामा फोहोर बिसर्जन गर्ने गरी काम अघि बढेको पनि बताए ।

संघीय सरकारको एक अर्ब ५६ करोड सहयोगमा ल्याण्डफिल्ड साइट निर्माण भइरहेको छ । आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि सरकारले स्थानीयको कुरीब १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।