Monday, 01, March, 2021

भारतमा बलात्कार आरोपी इन्काउन्टरमा मारिए

नयाँदिल्ली । गत साता छत्तिसगढमा बलात्कारपछि हत्या अभियोगका चार आरोपीलाई प्रहरीले ‘इन्काउन्टर’ गरेको छ । २८ नोभेम्बरमा एक भेटेरिनरी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । स्कुटर बिग्रिएर ट्याक्सी खोजिरहेको अवस्थामा सदनगरमा २७ वर्षीया महिलाको बलात्कारपछि जलाएर फालेको बताइएको थियो ।

सोही मुद्दालाई लिएर हैदरबादसहित भारतका विभिन्न स्थालमा एक साता लामो आन्दोलन चल्यो । आरोपीलाई पक्राउ गरी तत्काल कारवाहीको माग भइरहँदा प्रहरीले चारैजनालाई ‘इन्काउन्टर’ गरेको हो ।

प्रहरीले ती आरोपीलाई घटनाको केही दिनमै पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरु प्रहरीको नियन्त्रणबाट उम्किन खोजेका थिए । तेलंगना प्रहरीले उनीहरुलाई इन्काउन्टर गरेको हो । ‘उनीहरुले प्रहरीलाई आक्रमण गरे, र भाग्न कोसिस गरे,’ हैदरबाद प्रहरी सहायक पमुख प्रकास रेड्डीले भनेका छन् ।

साथै अभियुक्तहरुले हतियार प्रयोग गरी प्रहरीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । भारत प्रहरी यसअघि पनि गैरन्यायीक हत्याको कारण विवादित बन्दैआएको छ ।

ठूला घटनाका आरोपीलाई ‘इन्काउन्टर’ को नाममा हत्या गरेपछि प्रहरीको आलोचना हुँदैआएको छ । यस पटक पनि इन्काउन्टरलाई लिएर विभिन्न नेता तथा अधिकारकर्मीले मिश्रित प्रतिक्रिया दिएका छन् ।

कसैले प्रहरीले बलात्कार आरोपीलाई ‘सही सजाय’ दिएको बताएका छन् । कसैले कानुनीराजलाई प्रहरीले नमानेको बताएका छन् । भारतीय जनता पार्टीकी नेत्री तथा शिक्षामन्त्री स्मृति इरानीले यस घटनालाई राजनीतिकरण गर्न नहुने भन्दै प्रहरीले जायज काम गरेको प्रतिक्रिया दिएकी छन् ।

कांग्रेसका सांसद अधिर रंजन चौधरीले लजोकसभामा प्रहरीले अभियुक्तलाई भाग्न खोज्दा गोली चलाएको भन्दै उसले ‘ठीक गरेको’ बताए । भाजपाकै बरिष्ठ नेतृ तथा लोकसभा सदस्य मेनका गान्धीले भने दोषीलाई कानुनी प्रक्रियाबाटै कारवाही गर्नुपर्ने बताइन् ।