Wednesday, 24, February, 2021

३ वर्ष बित्यो, खुलेन बन्द भएका सिमा नाका

कञ्चनपुर । तीन वर्षअघि वस्तीको गाउँकै सडकमा ह्युम पाइप राख्ने विषयमा विवाद हुँदा कञ्चनपुरको पुनर्वास नगरपालिका ४ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा स्थानीय एक युवक गोबिन्द गौतमको मृत्यु  भयो  । पछि उक्त क्षेत्र केही दिन तनावग्रस्त बन्यो । घटनापछि त्यहाँको नेपाल–भारततर्फ आउजाउ गर्ने नाका बन्द भयो । जुन अझै खुल्न सकेको छैन ।

कञ्चनपुरकै बेलौरी नगरपालिका ८ पचुईमा भारतीय सुरक्षाकर्मीले हुलाकी सडक निर्माणमा समेत अवरोध सिर्जना गरेका छन्। भारतको केन्द्रिय सशस्त्र सुरक्षा वल ९एसएसबी०ले हुलाकी सडक दशगजामा पर्ने भन्दै काम नै रोकेको छ। पचुई क्षेत्रमा गत वर्षदेखि रोकिएको काम अझै सुचारु हुन सकेको छैन।

जिल्लाका विभिन्न ठाउँमा पछिल्लो पटक देखिएका सीमा विवाद प्रशस्त छन्। तर ब्रहृमदेवमा देखिएको वर्षौदेखिको विवाद समाधानको पहल नै हुन सकेका छैन। ब्रहृमदेवमा एसएसबीले बेलाबेलामा विभिन्न वहानामा उक्त क्षेत्रका वासिन्दालाई सीमा अतिक्रमणकै नाममा दुःख दिने गरेको हो।
गत वर्ष नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले पनि पुनर्वास, बेलौरी र ब्रहृमदेव क्षेत्रमा बढी विवाद भएको निश्कर्ष निकालेको थियो। उक्त टोलीले यिनै ठाउँमा बढी सीमा स्तम्भहरु हराएको, ढलेका र जीर्ण भएकाका कारण विवाद बढी भएको निश्कर्ष निकालेको हो।

पछिल्लो पटक ब्रहृमदेव बजार समेत आधा भूभाग भारतकै भएको भन्दै एसएसबीले स्थानीयलाई दुःख दिने गरेको छ। उक्त क्षेत्रमा मुक्त हलिया परिवारले सरकारी अनुदानमा निर्माण गरिरहेको घरको काम समेत एसएसबीले रोकेको छ। ‘पोहोर सालदेखि छानामा प्लाष्टिक हालेर बसेका छौं’ मुक्त हलिया खडक सार्कीले भने, ‘एसएसबीले ढलान गर्नै दिएन, यो त हाम्रो नेपालद्वारा अतिक्रमित भूमी हो भने।’
ब्रहृमदेवमा मुक्त हलिया परिवारलाई पुनर्स्थापना कार्यक्रम अन्तरगत तीन परिवारलाई एक का जमिन र घर निर्माणका लागि पनि सहयोग उपलब्ध गराएको थियो। तर एसएसबीले ढलान गर्न नदिएपछि मुक्त हलिया परिवार प्लाष्टिकको छानो हालेर बसेका छन्।

स्थानीयका अनुसार ३ नम्बर सीमा स्तम्भ महाकालीको बीच भागमा छ। जुन टनकपुर बांँधको जलाशयमा पर्छ। तर भारतीय पक्षले उक्त स्तम्भ भन्दा निकै वर आफ्नो भूभाग भन्दै दावी गर्दै आएको छ। सोही कारण उक्त क्षेत्रमा भीमदत्त नगरपालिकालाई सडक कालोपत्रेमा समेत अवरोध गरेको छ।
‘तीन नम्बर पिलर महाकालीको बीचमा छ, हामीले त्यहि देखेका हौं’ स्थानीय वीर बहादुर खडका भन्छन्, ‘तर अहिले त्यसलाई छाडेर ब्रहृमदेव बजारमै समेत एसएसबीले आफ्नो भूभाग दावी गरिरहेका छ।’ उनका अनुसार मुख्य पिलरको चारैतिर त्यसको पहिचानका लागि चिन्हहरु राखिएका हुन्छन्। तिनै चिन्हहरुलाई अहिले भारतिय पक्षले पिलर भएको दावी गरिरहेको हो।

फिर्ता भएन ३६ एकड

नेपाल –भारत सीमा क्षेत्रमा ब्रहृमदेवसँगै जोडिएको ३६ एक्कड नेपाली भूभाग सय वर्ष भन्दा बढी समयदेखि फिर्ता हुन सकेको छैन। शारदा ब्यारेज निर्माणका बेला लिएको उक्त जमिन हालसम्म भारतले सहमति कार्यान्वयन नगर्दा फिर्ता हुन नसकेको हो।

एक शताब्दी अघि महाकाली नदीमा शारदा ब्यारेज निर्माणका क्रममा लिएको उक्त जमिन भारतीय पक्षले अझै पनि नेपाललाई फिर्ता गरेको छैन। सीमा विज्ञ ऋषिराज लुम्सालीका अनुसार राणा शासन कालमा इष्ट इण्डिया कम्पनी र तत्कालिन राणा प्रधानमन्त्रीबीच शारदा ब्यारेज निर्माणका लागि नेपालको ४ हजार एकड जमिन प्रयोग गर्ने सहमति भएको थियो। उक्त जमिनको सट्टा भर्ना अन्त लिनेदिने विषयमा दुवै पक्ष सहमत भएका थिए। तर पछि भारतले २ हजार ८९८ एकड जमिन मात्रै प्रयोग गर्‍यो।

त्यसमध्ये नेपालले २ हजार ८६२ एक्कड जमिन बर्दियाको सीमा क्षेत्रमा सट्टाभर्ना पायो। बांँकी ३६ एक्कड जमिन भारतले प्रयोग गरेन। भारतले प्रयोग नभएको जमिन फिर्ता पनि दिएन र अन्त कतै सट्टाभर्ना पनि नदिएको लुम्साली बताउँछन्। ब्रहृमदेव नजिकै बाँझो रहेको ३६ एकड जमिन फिर्ता लिन १९५६ मा भारतको परराष्ट्र मन्त्रालयका कर्मचारी महेन्द्र सिंहले नेपाल सरकारलाई पत्राचार गरेको लुम्सालीले बताए। ‘त्यतिबेलादेखि उक्त जमिन हामीले फिर्ता लिन सकेका छैनौं’ उनले भने, ‘अहिले भारतले पनि फिर्ता दिन आनाकानी गरिरहेको छ।’