Saturday, 27, February, 2021

ललितपुरमा अज्ञात समूहले स्काभेटर चालकलाई निर्घात कुटेर हात भाँचे

ललितपुर । सडक विस्तारको काम भइरहेको बेला ललितपुरको गोदावरीमा अज्ञात समूहले स्काभेटर चालकलाई निर्घात कुटपिट गरेका छन्।

बुधबार बिहान आठ बजे गोदावरी बसपार्कभन्दा डेढ किलोमिटर तल सडक विस्तारको क्रममा माटोले पन्छाइरहेका स्काभेटर चालक सन्तोष कोइरालालाई अज्ञात व्यक्तिहरुले कुटपिट गरेर हात भाँचिदिएको महानगरीय प्रहरी वृत्त सातदोबाटो प्रहरीले जनाएको छ।

सडक विस्तार र कालोपत्रेको काम लामा समान्तर जेभीले गरिरहेको थियो । सडक विस्तारका क्रममा लगाइएको पर्खालमा माटो पुर्ने काम गरिरहेका बेला केही व्यक्ति आएर स्काभेटर चालकलाई आक्रमण गरी फरार रहेको सूचना आएको र तत्काल उनीहरुको खोजी जारी राखिएको सातदोबाटो प्रभागका डिएसपी गौतम मिश्रले जानकारी दिए ।

‘मनोज सिलवाल, असोक सिल्वाल र विदुर सिलवाल लगायतका केही व्यक्तिहरुले आक्रमण गरेको सूचना पाएका छौं, उनीहरुलाई तत्काल खोजी गरेर पक्राउ गर्नेछौं, बाटो विस्तारको काममा अवरोध गर्नेलाई कारवाही हुन्छ’, डिएसपी मिश्रले भने ।

घाइते कोइरालाको मिडिसिटी पोलिक्लिनिकमा उपचार भइरहेको छ। बाडेगाउँ–गोदावरीको ३ किलोमिटरको सडक विस्तारमा पहिले सेन्टरबाट १०÷१० मिटर फराकिलो बनाउने निर्णय भएको थियो। तर स्थानीयले पटक पटक विरोध गरेपछि सहमतिमा सडक ८ मिटरमा घटाइएको छ। कुटपिट गर्ने दोषीलाई पक्राउ गरी मुद्धा चलाईने प्रहरीले जनाएको छ ।