Monday, 30, November, 2020

धूमधामसँग सम्पन्न भयो तिलकोत्सव, राष्ट्रपति सहभागी 

काठमाडौँ — राम जानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार विधिपूर्वक तिलकोत्सव सम्पन्न भएको छ । महोत्सव मूल समारहोह समितिले ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा आयोजन गरेको स्वागत समारोहमा राष्ट्रपति विद्या देवी भण्डारी पनि सहभागी भइन् ।

राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, प्रदेश २ प्रमुख तिलक परियार, मुख्यमन्त्री लालबाबू राउत, प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र शोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, प्रदेश मन्त्रीहरु रामनरेश राय, नवल किशोर साहसहित संघीय र प्रदेश सरकारका आधा दर्जन मन्त्री तथा राम जन्मभूमि अयोध्याबाट आएका विशिष्ट साधु सन्तहरुको सहभागिता थियो।

कार्यक्रममा मिथिला नाट्यकला परिषद्ले जानकी लीला नामक गीति नाटक प्रदर्शन गरेको थियो। राष्ट्रपति भण्डारीले अयोध्याबाट जन्तीको रुपमा आएका विशिष्ट साधुहरुलाई सम्मान गरेकी थिइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराईले राम जानकी विवाह महोत्सवलाई नेपाल भारत बीच त्रेतायुगदेखि विद्यमान सुमधुर सम्बन्धको उदाहरणको रुपमा व्याख्या गरे। उनले भने, ‘यो धार्मिक तथा सांस्कृति महोत्सव दुई देशबीच विद्यमान सुमधुर सम्बन्धको प्रतीक हो। हामी यस सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छौँ।’