Wednesday, 25, November, 2020

मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपतिसंग नेकपा अध्यक्षद्वयले गरे छलफल

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । आजै बिहान दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएपछि उनीहरु राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । अध्यक्षद्वय र राष्ट्रपतिबीच मन्त्रिपरिषद् पुनर्गठन बारे छलफल भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षले राष्ट्रपति भण्डारलाई भेट्न शितल निवास गएको कुराको पुष्टि गरे ।

आजै दिउँसो १२ बजेका लागि बोलाइएको नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको क्रममा मन्त्रीबाट हटाइएका र नयाँ थपिएका मन्त्रीहरुको विवरण पहिला उक्त बैठकमा सार्वजनिक गरिएपछि मात्रै बाहिर सार्वजनिक गरिने स्रोतले दाबी गरेको छ ।
दुई अध्यक्षबीच धेरै अघि देखि नै मन्त्रिपरिषद् पुनर्गठनका बारेमा छलफल हुँदै आइरहेको थियो ।