Saturday, 28, November, 2020

पाकिस्तानमा दुई जना भारतीय पक्राउ, जासुस भएको आरोप

एजेन्सी । पाकिस्तानमा सोमबार दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पाकिस्तानी मिडिया रिपोर्ट अनुसार यी भारतीयमाथि अवैध तरिकाले पाकिस्तानमा प्रवेश गरेको आरोप लागेको छ ।

गिरफ्तार गरिएका भारतीयहरुको नाम प्रशान्त  मध्य–प्रदेश निवासी र दारीलाल तेलंगाना को भएको बताइएको छ ।

जियो न्युजका अनुसार दुवै भारतीय नागरिकलाइ पञ्जाब प्रान्तको बहावलपुरमा गिरफ्तार गरिएको थियो । पक्राउ पर्दा तीसँग कुनै काुननी कागजात थिएन ।

प्रहरीका अनुसार दुवै विरुद्ध मुद्दा दर्ता गरिएको छ । गिरफ्तार गरिएको एक भारतीय सफ्टवेयर इन्जिनियर रहेको पाकिस्तान प्रहरीले जानकारी दिएको छ ।

पाकिस्तानी प्रहरीका अनुसार तिनलाई पाकिस्तानमा आतंकवादी आक्रमण गर्नको लागि पठाइएको थियो ।

गत अगस्तमा पनि प्रहरीले पञ्जाव प्रान्तमा एक भारतीय जासुसलाई गिरफ्तार गरेको थियो ।

ती व्यक्ति गाजी खान सहरबाट पक्राउ परेका थिए । राजू लक्ष्मण नाम खुलाइएको ती व्यक्तिलाई पक्राउ परे लगतै गुप्तचर एजेन्सीको जिम्मा लगाइएको थियो । उनलाई बलूचिस्तान प्रान्तबाट पाकिस्तान प्रवेश गर्ने क्रममा पक्राउ गरिएको थियो ।

राजू लक्ष्मण नामका व्यक्तिलाई पक्राउ गरिएकै ठाँउबाट पाकिस्तानले कुलभूषण जाधवलाई पक्राउ गरेको पाकिस्तानले जनाएको छ ।

जाधव अवकाशप्राप्त सैनिक हुन् । उनलाई पाकिस्तानको सैन्य अदालतले जासूसी र आतंकवादको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो ।

अदालतले सन् २०१७ अप्रिलमा उक्त सजाय सुनाएपछि भारत यो मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत गएको थियो ।

अन्तर्राष्ट्रिय अदालतले आफ्नो फैसलामा कुलभूषण जाधवको मृत्युदण्डमा रोक लगाएको थियो । अदालतले कुलभुषणलाई कन्सुलर एक्सेस पहुँच  दिन निर्देशन दिएको थियो ।