Saturday, 28, November, 2020

काठमाडौँका सडकमा ‘गो ब्याक इन्डिया’ को नारा

 

काठमाडौँ । भारतले नयाँ नक्सामा नेपाली भूमिलाई राखेपछि नेपालमा चौर्तफी विरोध भइएको छ।

भारतको यो प्रवृत्तिप्रति राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले चर्को विरोध गरिरहेका छन् ।
बुधबार सत्तारुढ तथा विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनले भारतविरोधी प्रदर्शन गरेका छन् ।

उनीहरुले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै नेपाली भूमि अतिक्रमण प्रयासको चर्को विरोध गरे । राजधानीको प्रदर्शनीमार्गबाट विद्यार्थी संगठनहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको भएको भन्दै तत्काल नक्सा सच्याउन माग गरे ।

भारतको अघोषित नाकाबन्दीको समयमा नेपालमा ‘गो ब्याक इन्डिया’ नारा लाग्ने गर्थे । सोही बेलालाई सम्झाउने गरी अहिले पनि भारतको विरोधमा चर्को नाराबाजी भएको हो ।

नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले सन् १९६२ देखि सैनिक अतिक्रमण गरेर कब्जा गर्दै आएको छ । यो सहित भारतले नेपालको ३७२ वर्ग किलोमिटर अतिक्रमण गरेको छ । यसबीच, काश्मीर र लद्दाखको नयाँ अवस्थितिलाई चित्रित गर्ने क्रममा जारी गरेको नयाँ नक्सामा भारतले औपचारिक रूपमै उक्त अतिक्रमित नेपाली भूमिलाई समेत आफ्नो भूमिका रूपमा चित्रित गर्दै नक्साभित्र राखेर नयाँ नक्सा सार्वजनिक गरेको हो । पाकिस्तान सरकारले भने आफ्नो भूमि भारतको नक्सामा समेटेको विषयमा बिरोध गरेको छ । उसले संयुक्त राष्ट्रसंघमा जाने चेतावनी भारतलाई दिएको छ ।