Thursday, 03, December, 2020

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ — बुधबार बिहानदेखि धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राति डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओली ग्रान्डीबाट ८ बजेर ५ मिनेटमा डिस्चार्ज भएको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

प्रधानमन्त्री ओलीको बुधबार र बिहीबार गरी दुईपटक डायलाइसिस गरेर बेलुका डिस्चार्ज भएका हुन्।उनी अस्पतालबाट डिस्चार्ज भएर निवास फर्किएका छन्।

प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्नुपूर्व पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका निर्देशक तथा वरिष्ठ हाडजोर्नी प्रत्यारोपण विशेषज्ञ डा.चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो भएकोले डिस्चार्ज गर्न लागिएको बताएका थिए।

हिजो अस्पताल आउँदा उहाँको रगतमा क्रियाटिनिनको स्तर माथि थियो। हिजो र आज डायलाइसिस गरेपछि अहिले अवस्था सामान्य छ, उनले भने, उहाँमा संक्रमण पनि छैन। त्यसैले उहाँलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो। अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार गएपनि उहाँको निजी चिकित्सक डा। दिव्यसिंह शाहसहितको विज्ञ चिकित्सकको टोलीले उहाँको निगरानी गरिरहने छ। उहाँहरु पनिसँगै नै जानु हुन्छ।

डा. पाण्डेले प्रधानमन्त्री ओलीलाई थप डायलाइसिसको आवस्यकता रहे नरहेको बारे केही खुलाउन चाहेनन्। थप डायलाइसिस गर्ने कि नगर्ने भन्ने कुरा अहिले नै भन्न मिल्ने कुरा होइन। उहाँको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको रगतको विभिन्न परीक्षण गर्नुहुन्छ र त्यसपछि के गर्ने भन्ने निर्णय लिनुहुन्छ, उनले भने। डा.पाण्डेले पत्रकार सम्मेलन अवधीभर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हाललाई ठिक रहेको बताउँदै त्यसमा कुनै शंका नगर्न आग्रह गरेका थिए।