Monday, 30, November, 2020

ट्रकमा मृत भेटिएका ३९ नै चिनियाँ नागरिक रहेको खुलासा

काठमाडौं । बेलायतमा एउटा ट्रकभित्र मृत भेटिएका सबै चिनियाँ नागरिक भएको खुलेको छ ।

बेलायती सञ्चार मध्यमहरूले स्रोतको हवाला दिँदै मृत भेटिएका सबै चिनियाँ नागरिक भएको जनाएका छन् ।

यद्यपि, आप्रवासन कार्यालयले यसबारे औपचारिक रूपमा केही बताएको छैन । शवको पहिचान आफूहरूको प्रारम्भिक कार्य भएको त्यहाँ कार्यरत प्रहरीको भनाइ छ । घटनाबारे चिनियाँ र बेलायती दुवै पक्षको प्रतिक्रिया आउन बाँकी छ । बुधबार पूर्वी लन्डनको ग्रेजमा ट्रकको पछाडि ३९ शव भेटिएको थियो । शव भेटिएको १ दिनपछि ती चिनियाँ नागरिक भएको खुलेको हो । मृतकमध्ये ३८ बयस्क र १ जना किशोर रहेको अधिकारीहरूले जनाएका छन् । यी चिनियाँ नागरिक बेल्जियमबाट डुंगामा आएको बताइएको छ । यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए ।