Wednesday, 25, November, 2020

एक-एक गरि नेता,कार्यकर्ता पक्राउ पर्दै गएपछि वार्तामा बस्न ‘विप्लव’ तयार

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूह वार्तामा बस्न सकारात्मक देखिएको छ । पश्चिम क्षेत्रमा बसेको भनिएको पार्टीको आठौँ पूर्ण बैठकले इमान्दारसाथ प्रस्तुत भए सरकारसँग वार्तामा बस्न आफूहरु तयार रहेको निर्णय गरेको हो । पछिल्लो समय सरकार ‘विप्लव’ समूहप्रति कडाइका साथ प्रस्तुत हुँदै धमाधम नेता कार्यकर्ता पक्राउ गर्न लागेपछि ‘विप्लव’ समूह वार्ताप्रति सकारात्मक बनेको हो ।

‘विप्लव’ समूहले यसअघि आफूहरुलाई सरकारले वार्ताको लागि औपचारिक आह्वान नै नगरेको बताउँदै आएको थियो । तर अहिले बसेको भनिएको पार्टीको केन्द्रीय समितिको बैठकले षड्यन्त्रपूर्वक नभई इमान्दारिताका साथ वार्तामा बस्ने भए आफूहरु तयार रहेको बताएको हो ।

गएको ३० गते दाङको राजापुर गाउँपालिका ४ स्थित मरेठाको जंगलबाट बैठक बसिरहेका बेला ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द ९वीरजंग०सहित २१ जना नेतालाई प्रहरीले पक्राउ गरेको थियो ।

योसँगै ४३ जिल्लाका जिल्ला इन्चार्जसहित १ सय ४८ जना नेतृत्व तहका नेताहरुलाई पनि प्रहरीले विभिन्न समयमा पक्राउ गरिसकेको छ ।