काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ ।
शुक्रबार बेलुकी रुपन्देही घर भएका ५० वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो । २७ वर्षीय छोराले उनलाई कलेजो दान दिएका थिए ।
यसअघि गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो पटक पनि त्रिवि शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण गरिएको थियो । कलेजो प्रत्यारोपण कार्यमा नेपाली डाक्टर तथा नर्सहरुको टोलीलाई भारतीय डाक्टरहरुले सघाएका थिए ।
नेपाली टोलीको नेतृत्वकर्ता डाक्टर रमेशसिंह भण्डारीले प्रत्यारोपणमा संलग्न भारतीय डाक्टरहरुलाई धन्यवाद दिँदै कलेजो दान दिएका र प्रत्यारोपण गरिएका दुवैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । साथै उनले तेस्रो सफलताले नेपालमा कलेजो प्रत्यारोणले स्थायित्व पाउने आशा जागेको बताएका छन् ।