Friday, 04, December, 2020

अन्तर्राष्ट्रिय अनलाइन पत्रकारीता पुरस्कार पत्रकार गौतम र लुईटेललाई

काठमाडौँ। यस बर्षको अन्तर्राष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ पत्रकारद्धय युवराज गौतम र श्याम लुईटेललाई दिने निर्णय भएको छ ।

गौतमलाई नेपालबाट र लुईटेललाई बेलायतबाट संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय गरिएको हो । प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाइरहेका पत्रकार लुईटेल वीनेपाली डट कमका सम्पादक मण्डलमा छन् भने गौतम इमेजखवर डटकमको डेस्क इडिटर हुन् ।

डेढ दशकअघि इलामको पावन भूमि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गौतम स्पेसटाइम दैनिक तथा च्यानल नेपाल टेलिभिजनको जिल्ला संवाददाता हुँदै हाल काठमाडौंलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहेका छन् । हाल कान्तिपुर साप्ताहिक र नारी मासिक साथै राजधानी दैनिकमा स्वतन्त्र रुपमा कलम चलाउँछन् ।

उनले अर्थबजार डटकमको सम्पादक तथा फ्रेसन्यूज नेपाल डटकमको समाचार संयोजकका रुपमा भूमिका निर्वाह गरिसकेका छन् । दुई दशक लामो पत्रकारिताको अनुभव भएका पत्रकार लुईटेल रेडियो सगरमाथा, राजधानी दैनिक हुँदै डायस्पोराको बेलायतमा संचालित न्यूज पोर्टल वीनेपाली डटकममा सकृय छन । समाजशास्त्रमा स्नातकोत्तर तह उत्तिर्ण गरेका लुईटेल नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष हुन् ।

नेपाल र विदेशमा एनआरएनएका बारेमा कमल चलाउने पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कारका स्थापना गरिएको थियो । गैरआवासीय नेपाली संघका एक अभियन्ता चिरन्जीवि ढकालकी स्वर्गीय माता सीतादेवी ढकालको नाममा स्थापित गरिएको सो पुरस्कार प्रत्येक दुइ वर्षमा प्रदान गरिन्छ । पुरस्कारको राशी ५ सय अमेरिकी डलर सहित प्रमाण पत्र रहेको छ । यस बर्ष संयुक्त रुपमा वितरण गर्न लागिएको हो ।