Thursday, 03, December, 2020

दार्चुलामा किन गर्यो भारतीय सेनाले ‘गस्ती’ ?

काठमाडौं । भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो । तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।
छ्यालेकमा नेपालको प्रहरी चौकी रहेको छ । चौकीमा हाल २३ प्रहरी छन् । त्यहाँ प्रहरीले नेपाली भूभागमा आएर पटकपटक भारतीय सेनाले गस्ती गर्ने गरेको गुनासो गरेको दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले बताए । ‘पुलिसले नै भने, माथि भनिदिनुपर्‍यो, यहाँ भारतीय सेना आइरहन्छन्’, उनले भने ।
चीनलाई निगरानी गर्न भारतीय भूमिबाट अप्ठ्यारो भएकाले नेपाली भूमि प्रयोग गर्ने गरेको स्थानीयले बताएको क्याम्पस प्रमुख साउदको भनाइ छ ।
यो क्षेत्र सदरमुकामबाट धेरै टाढा छ । सन् १९६२ मा भारत–चीन युद्धको समयदेखि कालापानीस्थित नेपाली भूमिमा भारतीय सेना बसिरहेको छ । कालापानी क्षेत्रको ६२ वर्ग किलोमिटर क्षेत्र ६० वर्षदेखि भारतले कब्जा गरेको छ । कृत्रिम खोला बनाएर भारतले त्यो भूभाग आफ्नै हो भनेर दाबी गरिरहेको छ । करिब ८÷१० किलोमिटर टाढा चिनियाँ सेनाको पोस्ट् छ ।

क्याम्पस प्रमुखलाई धम्की

क्याम्पस प्रमुख साउदले भारतीय पक्ष यो सूचना बाहिर ल्याएको भन्दै धम्काएको छ । ‘तपाईं क्याम्पस चिफ जस्तो मान्छे किन बोल्न पर्‍यो भनेर मलाई भनिरहेका छन्’, उनले भने, ‘बोल्दा ठिक हुँदैन, तपाई त जागिरे मान्छे गइहाल्नुहुन्छ, तर जनतालाई अप्ठ्यारो हुन्छ ।’
क्याम्पस प्रमुख साउदले नेपाली भूमिमा हतियार र बर्दीसहितको सेनाले गस्ती गर्न नमिल्ने भएकाले शंकास्पद गतिविधीका कारण आफूले यो कुरा बाहिर ल्याएको बताए ।