Thursday, 17, October, 2019

सर्वाधिक चर्चा र सफलता कमाउन सफल नाटकः नौगेडी

    🖋️अस्मिता के.सी.
काठमाडौँ । पुरातनवादी नेपाली लोकसंस्कार र संस्कृतिको ऐनाको रुपमा प्रस्तुत नाटक नौगेडीले सर्वाधिक चर्चा र सफलता कमाउन सफल भएको छ ।

दुई दशकदेखि नेपाली रंग मञ्च मार्फत शाब्दिक विद्रोह गर्दै आएका नाटककार पुरु लम्सालको नाटक “नौगेडी” ले सामाजिक कुप्रथाको तीतो सत्य प्रस्तुत गरेर दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।

नाटक “नौगेडी” ले जल्दो बल्दो वर्तमान सामाजिक समस्या कुप्रथाको बारेमा यथार्थ चित्रण गरेको र कलाकारहरुको नाट्य शैली पनि ठेट नेपाली वास्तविक झल्काउने खालको भएकोले पनि नाटक एकदमै राम्रो लागेको दर्शकहरुको प्रतिक्रिया छ ।

गत भाद्र २७ गतेदेखि काठमाडौँको सर्वनाम थिएटरमा सुरु भएको उक्त नाटक “नौगेडी” यसअघि बङ्गलादेशमा पनि मञ्चन भएको थियो । सर्बनाम थिएटरमा १२ गतेसम्म मञ्चन भएको  “नौगेडी”मा  अन्तिम दिनसम्म पनि दर्शक र स्रोताको एकदमै उत्साहजन उपस्थिती रहेको नाटककार तथा निर्देशक पुरु लम्सालले बताए ।

गरीबिको कारणले आफ्ना हर रहरहरु मार्नु पर्ने बाध्यात्मक पस्थिती, विवाहित निःसन्तान महिलालाई गरिने सामाजिक अपहेलना, आफ्नै परिवार मार्फत बेचिनु पर्ने सामाजिक ब्यथिती, अर्काको बाध्यात्मक परिस्थितीको फाइदा उठाउने चिया पसले (अर्जुन), चाहेर पनि सन्तान खेलाउने श्रीमतीको रहर पुरा गर्न नसक्ने च्यान्टे र “नौगेडी” लगाउने अनि सन्तान खेलाउने रहरै पुरा गर्न नपाई संसार छाडेकी उसकी श्रीमती जस्ता थुप्रै नेपालीहरुको जिन्दगिमा लागि रहने दुःखका हावा हुरी तथा महाभुकम्पहरुको यथार्थ चित्रण नौगेडीमा भेेेटिन्छ ।


उक्त नाटकमा सुशिल सिं ठकुरी, रीता थापा, आईपी आचार्य, बृहषमान सुनुवार, भीष्मराज जोशी, दिवाकर घिमिरे, अनामिका लामिछाने, राहुल श्रेष्ठ, अस्मिता बयलकोटी, समीर खनाल, रुवी सत्याल र जयराम तिमिल्सिनाले अभिनय गरेका छन् ।