Tuesday, 20, April, 2021

नेपालमा डेंगुले भयावह रूप लिदै, टेकु अस्पतालमा १४ स्वास्थ्यकर्मी संक्रमित

काठमाडौं, नियन्त्रण बाहिर गइरहेको डेंगु रोग पछिल्लो समय राजधानीमा भयाभह रुपमा फैलिदै गएको छ । वैशाखदेखि महामारीको रुपमा फैलिएको डेंगुबाट राजधानी बाहिर मात्र नभइ काठमाडौंमा पनि एकै दिन सयौँ बिरामी संक्रमित हुन थालेका छन् । त्यतिमात्र नभइ उपचारमा संलग्न चिकित्सक समेत संक्रमित हुन थालेका छन् ।

चिकित्सकदेखि मन्त्रीसम्म डेंगुको चपेटामा परेका छन् । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई डेंगु भएपछि उपचारका लागि बुधबार ग्रान्डी अस्पताल भर्ना गरिएको छ ।

टेकुस्थित मुलुककै एक मात्र केन्द्रीय सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा बिहीबार मात्रै डेंगुको आशंकामा ओपिडी जाँच गराएका २ सय ४७ जनामध्ये १ सय ११ जनामा संक्रमण भेटिएको छ ।

अस्पतालमा उपचारमा संलग्न चिकित्सक तथा कर्मचारी पनि भारी मात्रामा डेंगुको चपेटामा आएका छन् । हालसम्म टेकु अस्पतालका १४ जना स्वास्थ्यकर्मीमा डेंगुको संक्रमण भेटिएको अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडाले जनाकारी दिए ।

अस्पतालमा उपचारमा संलग्न ३ वरिष्ठ चिकित्सकमा डेंगुको संक्रमण भएको छ भने अन्य ११ जना कर्मचारी, सहयोगी, पारामेडिकलमा समेत डेंगु संक्रमण भएको अस्पतालले जनाएको छ ।

सर्वसाधारणमा डेंगुको संक्रमण अस्वाभाविक रूपमा बढिरहँदा उपचारमा संलग्न चिकित्सकसमेत संक्रमित बनेपछि उपचारमा थप जटिलता सिर्जना भएको छ ।

‘अस्पतालमा दैनिकजसो ३ सयको हाराहरीमा बिरामी डेंगुको आशंकामा परीक्षणका लागि आइरहेको र अस्पतालमा हाल २४ जना डेंगु संक्रमितको भर्ना गरेर उपचार गरिराखिएको खतिवडाले बताए । बिरामी चाप एक्कासि बढेसँगै बेड अभाव भएकाले तुरुन्त थप २० बेड सञ्चालनमा ल्याउन लागेको उनले बताए ।

पछिल्लो साता राजधानी काठमाडौंसहित प्रदेश ३ मा डेंगुको फैलावट सबैभन्दा बढी देखिएको छ । साउनयता १७ भदौसम्म प्रदेश ३ मा मात्र करिब १ हजार १ सयमा डेंगुको संक्रमण पाइएको छ । तीव्र गतिमा फैलिरहेको डेंगुको पछिल्लो २ दिनको संख्यासमेत जोड्ने हो भने यो संख्या १ हजार ५ सयको हाराहारीमा पुगेको अनुमान छ ।

डेंगु संक्रमित बिरामीलाई उपचाररत अवस्थामै टोकी लामखुट्टे संक्रमित भएर स्वास्थ्यकर्मीलाई समेत टोक्नाले डेंगुको संक्रमण स्वास्थ्यकर्मीमा फैलिएको हुन सक्ने अनुमान अस्पतालका वरिष्ठ चिकित्सक शेरबाहुदर पुन लगाउँछन् ।

स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको १७ भदौसम्मको डेंगु संक्रमितको तथ्यांकले पछिल्लो एक सातामा काठमाडौंमा ४ गुणाले डेंगु संक्रमितको संख्या बढेको देखाएको थियो । त्यसपछिका २ दिनमै काठमाडौंमा डेंगुको संक्रमण कैयौँ गुणा बढेको अस्पतालका तथ्यांकले देखाएको छ । कतिपय निजी अस्पतालका बेड पनि डेंगु संक्रमितले खच्चाखच भरिएको पाइएको छ ।

वैशाख अन्तिम सातादेखि सुनसरीबाट फैलिएको डेंगु बाट हालसम्म देशभर ७ हजारभन्दा बढी प्रभावित भइसकेका छन् ।