Tuesday, 02, March, 2021

भारतबाट आयात गरिएका आलुमा विषादी भेटियो

बुटवल । भारतबाट आयात गरिएका आलुमा विषादी भेटिएको छ। बुटवलस्थित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाइमा शुक्रबार परीक्षण गरिएको आलुमा खानै नमिल्ने विषादी भेटिएको हो। तीन महिनादेखि बन्द रहेको प्रयोगशाला मंगलबारबाट पुन सुचारु भएको थियो। प्रयोगशालाबाट भारतबाट आएका ५६ उपज दुई दिनमा परीक्षण गरिएको थियो। भन्सारको सिफारिसमा परीक्षण गरिएका आलुमध्ये दुईवटा ट्रकका आलुका नमुनामा विषादी भेटिएको हो।

भारतबाट ल्याउन खोजिएका आलुका दुवै नमुनामा ३६ देखि ४५ रुकावट प्रतिशत देखिएको हो। ‘रुकावट प्रतिशत ३५ भन्दा कम आयो भने खान योग्य हुन्छ। ३६ देखि ४५ प्रतिशत भयो भने दुई÷तीन दिन पर्खेर फेरि परीक्षण गर्नुपर्ने हुन्छ’, प्रयोगशाला प्रमुख रामबहादुर खत्रीले भने। प्रयोगशालामा अहिले धेरैजसो आलु प्याजको नमुना आइरहेको खत्रीले बताए।

विषादी जाँचेर आयात सुरु गरियो 

भारतबाट आयात हुने कृषि उपज (तरकारी र फलफूललगायत) मा विषादी जाँच गरेर मात्रै आयात गर्न थालिएको छ। तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँच गरेर मात्रै आयात गर्न थालिएको छ ।