Saturday, 27, February, 2021

पक्राउ गर्न खोज्दा गोली हानियो: प्रहरी, वडाध्यक्ष भन्छन्- गफगाफबाट वादविवाद हुँदै गोली हानाहान

प्रहरी टोलीका जवान सञ्जीव राई

भोजपुरमा पक्राउ गर्न खोज्दा विप्लव कार्यकर्ताले गोली हानेपछि जवाफी फायर गर्दा विप्लव कार्यकर्ताको पनि मृत्यु भएको प्रहरी प्रधान कार्यालयले दाबी गरेको छ।

प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रमेश थापाले पक्राउ गर्न गएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेपछि जवाफी फायर गरिएको बताए। उनले जवाफी कारबाहीमा विप्लव कार्यकर्ता मारिएको बताए।

भोजपुर नगरपालिका-७ स्थित हटियालाइनमा हतियारसहित प्रवेश गरको सूचनाको आधारमा गएको प्रहरी टोलीका जवान सञ्जीव राईलाई विप्लवका ओखलढुंगा इञ्चार्ज निरकुमार राईले गोली हानेको प्रहरीको दाबी छ।

सञ्जीवको कोखामा गोली लागेको थियो। सञ्जीव ढलेपछि भोजपुर षडानन्द गाउँपालिकाका निरकुमारमाथि प्रहरीले जवाफी फायर गरेको प्रहरीको दाबी छ।

निरकुमारलाई नियन्त्रण लिने क्रममा जवान खेमनाथ भट्टराई घाइते भएको प्रधान कार्यालयले जनायो। भट्टराइको बायाँ कुमको हड्डी भाँच्चिएको प्रहरीको भनाइ छ।

अर्का जवान सुरेन्द्र माझीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

विप्लव कार्यकर्ताको साथबाट चाइनिज पेस्तोल, म्याग्जिन र ६ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट सात सय मिटर नजिक पर्छ।

प्रधान कार्यालयका अनुसार चार-पाँच जनाको संख्यामा रहेका विप्लव कार्यकर्ता फरार छन्।

प्रहरीले यसो भनिरहँदा घटनास्थलनजिकै रहेका ७ नम्बर वडाका वडाध्यक्ष जयबहादुर तामाङले भने घटनास्थलमा विप्लवका एकै जना (निरकुमारमात्र) रहेको बताएका छन्।

‘म नजिकै एउटा कार्यक्रममा थिएँ, अचानक गोली चल्यो,’ तामाङले भने, ‘गएर हेर्दा दुवै जनाको लास उठाइसकिएको थियो।’

तामाङका अनुसार घटना पाँचधारे होटलमा भएको हो। सुरूमा प्रहरी जवान राईमात्र त्यहाँ गएका थिए। दुवैले सँगै चिया पिएका थिए।

‘केही समयपछि दुवैबीच वादविवाद सुरू हुन थाल्यो। ठेलमठेल र घम्साघम्सी भयो, सञ्जीवले पेस्तोल देखाएपछि तेरोजस्तो पेस्तोल मसँग पनि छ भनी निरकुमारले सञ्जीवको टाउकोमा गोली हानेछन्,’ होटलका साहुलाई उद्धृत गर्दै वडाध्यक्ष तामाङले भने, ‘टाउकोमा गोली लागेका सञ्जीव रन्थनिएर होटलबाहिर सडकमा ढले।’

सञ्जीव ढल्दा जिल्ला प्रहरी कार्यालयबाट दुई जनाको टोली आइसकेका थिए। उनीहरूले नै निरकुमारमाथि फायर गरेको तामाङले बताए। ‘निरकुमारको कहाँ गोली लाग्यो त्यो चाहिँ मलाई थाहा भएन,’ उनले भने।

तामाङका अनुसार निरकुमार आइतबार भोजपुर आएका थिए। निरकुमार र सञ्जीवको सोही वडामा दुई सय मिटरको फरकमा डेरा छ।

सञ्जीव लामो समय भोजपुर प्रहरीमा सादा पोशाकमा कार्यरत थिए।

उनीहरू आपसमा परिचित रहेको तामाङ बताउँछन्। एउटै वडामा लामो समय बसेका हुनाले दुवैबीच राम्ररी चिनजान रहेको तामाङ बताउँछन्।

एक सालयता निरकुमार ओखलढुंगामा पार्टी गतिविधिमा सक्रिय थिए। कहिलेकाहीँ भोजपुर आइरहन्थे। श्रीमती डेरामा भएका कारण भेट्न आउने गरेको तामाङले बताए। निरकुमार पूर्वमाओवादी लडाकु हुन्।

यो पनि :

भोजपुरका सिडिओ भन्छन्- प्रहरीलाई झुक्याएर गोली हानेपछि जवाफी फायर गर्दा विप्लव कार्यकर्ताको मृत्यु भयो