Tuesday, 02, March, 2021

निपाह भाइरस के हो? 

निपाह भाइरस केहि हप्ता अगाडी भारतमा फेरी देखियो। गत बर्ष यस भाइरसले दक्षिणी भारत केरेलामा दर्जनौ व्यक्तिको मृत्यु भएको थियो। यो एकप्रकारको चमेरामा पाहिने भाइरस हो भने, सन् १९९९ मा पहिलो पटक  मलेसियन कृषकहरुमा देखा परेको थियो। सन् २००१ मा बंगलादेश देखिएको थियो र तत् पश्चात त्यहाँ पनि देखिदै आहिरहेको छ। भारतमा देखिएता पनि नेपालमा भने यो भाइरस पहिचान भैसकेको छैन। तर चमेरा जसलाई ” फ्रुट ब्याट” को नामले चिनिन्छ, भने नेपालमा पनि पाहिन्छ। त्यसैले नेपाल पनि निपाह भाइरसको जोखिममा देखिन्छ।

मलेसियामा यो भाइरस संक्रमित सुंगुरहरुको नजिकको सम्पर्कबाट सरेको बताइन्छ, भने भारत र बंगालदेशमा चमेराले जुठो हालेको वा त्यसको पिसाब संक्रमित भएको फलफुल खादा सरेको बिश्वास गरिन्छ। मानिसबाट मानिसमा पनि सजिलै सर्ने गर्दछ। सन् २००१ मा सिलिगुडी भारतमा भएको यो भाइरसको प्रकोपमा ७५% संक्रमितहरु अस्पतालका मात्र स्वास्थकर्मीहरु थिए।
ज्वरो आउनु, टाउको दुख्नु, मंश्पेशिका दुख्नु , घाटी दुख्नु, बान्ता हुनु आधी यसका प्रारम्भिक लक्षणहरु हुन्। रोग बढ्दै गएमा रिंगटा लाग्ने, बेला बेलामा होश हराउने र स्नायु प्रणालीमा नै असर पार्ने गर्दछ र अक्युट एनसेफालाइटिस् हुदछ। कसै कसैलाई श्वास-प्रश्वाससंग सम्बन्धित लक्षणहरु पनि देखा पर्ने गर्दछ। एनसेफालाइटिस् भएको २४ देखि ४८ घन्टामा संक्रमित अचेत अवस्थासम्म पुग्ने गर्दछ। यसको मृत्युदर ७५% सम्म हुने गरेको छ। संक्रमण भएको ४ देखि १४ दिनमा यसको लक्षणहरु देखिने गर्दछ।उपचार पछि पनि लगभग २०% मा स्नायु प्रणालीसंग सम्बधित समस्य देखिन सक्दछ। लक्षणहरु अरु संक्रमण रोगहरुसंग मिल्दोजुल्दो देखिने भएकोले प्रयोगशाला निदान आवश्यक हुन्छ। पीसीआर प्रबिधिबाट यसको पहिचान गर्न सकिन्छ।
यसको बिशेष औषधि हुदैन। त्यसैले लक्षणको आधारमा उपचार गर्दै जानु पर्दछ। र सकेसम्म सुबिधा सम्पन्न अस्पतालमा गर्नु पर्दछ। यसको खोप हाल उपलब्ध भने छैन। त्यसैले बच्ने उपायहरु अबलम्बन गर्नु नै यसबाट बच्ने उपयुक्त तरिका हुनसक्दछ। मलेसिया र भारतमा भएको प्रकोपहरुबाट हामीले शिक्षा लिनु पर्दछ। नेपालमा धेरै दाजुभाईहरुले सुंगुर पालन गर्ने भएकोले बिशेष सतर्कता अपनाउनु पर्दछ भने काठमाडौँ लगाएत बिभिन्न ठाउमा “फ्रुट ब्याट” चमेरा भएकोले कतै कुनै फलफुलमा टोकेको निशानी वा र्याल जस्तो देखे खानु हुदैन।
नेपालमा आधारभूत अनुसन्धान गरी यो भाइरस भए नभएको पत्ता लगाउनु पर्दछ र त्यसै अनुसार सतर्कता अपनाउने तथा स्वास्थकर्मीहरुलाई तालिम दिदै जानु पर्दछ किनभने यसको लागि प्रकोप नै कुर्नु पर्दैन र भाइरस हुदैमा लक्षणहरु देखिने वा महामारी फैलिन्छ भन्ने पनि छैन।

डा. शेरबहादुर पुन
संयोजक, क्लिनिकल रिसर्च युनिट,
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल