Friday, 07, May, 2021

सर्पदंशका बिरामी बढे, टेकु अस्पतालमा मात्रै दैनिक ७ जना बिरामी आउछन्

 


काठमाडौं,  गर्मी मौसम सुरु भएसंगै सर्पदंशका विरामीको संख्या पनि बढ्न थालेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्पदंशका बिरामीको चाप बढ्न थालेको छ ।

काभ्रेकी ४९ वर्षिया लेखकुमारी फुयाललाई गाइबस्तुका लागि घांस काट्न जांदा सर्पले टोक्यो । घांस काट्दै गर्दा दिउसो साढे ४ बजेतिर उनलाई सर्पले टोकेको थियो । त्यसपछि लगत्तै उनि नजिकैको मेडिकल गइन् । त्यहा उपचार सम्भव नभएपछि ३ दिन अघि राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु आइपुगेर भर्ना भएर उपचार गराइहेकी छन् ।

गर्मी बढेसँगै सर्पले टोकेर अस्पताल आउनेको सख्या बढेका छन् । अस्पतालमा दैनिक ६, ७ जना शर्पदंशका बिरामी पुग्न थालेका छन् । सर्पदंशको समस्या तराइमा सबैभन्दा धेरै देखिन्थ्यो ।

तर, यसपटक त पहाडी क्षेत्र हरियो रंगको हर्रेऊ सर्पले टोकेका अधिकाशं बिरामी सर्पदशंको उपचार गर्न आएका छन् । गुल्मीकी इन्द्रा खरेललाई पनि बिहान घांस काट्न जादा हर्रेउले नै टोकेपछि बेहोस जस्तै भइन् । उनि जिल्लामा उपचार सहज नभएपछि राजधानीको टेकु अस्पताल आइपुगिन् । हर्रेउले टोकेको ठाउमा निकै ठुलो फोका आएपछि उनी भर्ना भएरै उपचार गराइरहेकी छन् ।

गर्मी बढेसंगै हर्रेउलगाएत अन्य प्रजातिका सर्पले टोकेका बिरामीको चाप पनि असपतालमा बढेको छ । गोमन लगाएत सर्पले टोकेर पनि टेकु अस्पताल आएका बालबालिकाको संख्या धेरै छ ।

चिकित्सकका अनुसार सर्पले टोकेर आएका सबै जनालाई भर्ना गर्नु पर्दैन । जसको रगतमा विष देखिन्छ, उनीहरुलाई मात्र भर्ना गरिन्छ । भर्ना हुनेहरु भने कम्तीमा ७ दिन देिख १५ दिनसम्म बस्नुपर्छ ।

तराइमा सर्पले टोक्यो भने छिटो विष छिटो शरीरमा फैलन्छ । किनभने त्यहां बढी विषालु सर्प हुन्छन् । समयमै उपचार नगराएमा मृत्यु हुने सम्भावना अत्याधिक हुन्छ । तर पहाडमा पाइने सर्प त्यति विषालु नहुने चिकित्सक बताउछन् ।

जेठ महिनादेखि हालसम्म मात्रैसर्पले टोकेका ३९ जना बिरामी आइसकेका छन् । सर्पले टोकेपछि त्यो ठाउंमा चुस्ने, विभिन्न घरेलु औषधी लगाउने र सर्पलाई मार्ने प्रचलनमा रहेकोमा त्यसो गर्न नहुने डा. पाण्डेको भनाइ छ ।

अस्पतालका अनुसार विषेश गरेर भक्तपुर, ठिमी, ललितपुरका गाउं काभ्रे, सिन्धुपाल्चोक धादिङ, गोर्खा, नुवाकोट लगायतबाट सर्पले टोकेका धेरै बिरामी उपचार गराउने गर्छन् । सर्पले टोकेका बिरामी जेठको अन्तिम साताबाट सुरु भएर असार, साउन, भदौसम्म अस्पताल आउने संख्या बढी हुन्छ ।

समयमै सर्पदशंको उपचार गराउन सके विषालु सर्पको विष लागेका बिरामीलाई पनि बचाउन सकिन्छ । तर, सर्पदंशको उपचारका लागि राजधानी बाहिरका अस्पतालमा सधैंभर औषधी अभावको समस्या यथावतै छ ।