मानिसको शरीरमा या अनुहारमा सेतो रङको दाग आउने समस्या दुबी हो। सेतो दुबी शारीरिक सौन्दर्यताको समस्या हो। तर यसले सौन्दर्यतासँग मात्र सम्बन्धित नभएर मनोवैज्ञानिक रुपमा पनि असर गरिरहेको हुन्छ।
नेपाली समाजमा अझै सेतो दुबीप्रति जनमानसमा फैलिएको अवैज्ञानिक, नकारात्मक धारणा कम भएको छैन । यो रोग नभएपनि यस समस्यालाइ हालको चिकित्सकीय प्रविधिले उपचार समेत गर्न सकिन्छ ।
छालाले आफनो प्राकृतिक रंग गुमाउदा मानव शरिरमा यो समस्या देखा पर्छ, अर्थात् छाला र कपाललाई रंग प्रदान गर्ने कोष मेलानोसाइटको मृत्यु भएपछि यो समस्या हुन्छ ।
विश्वव्यापी रुपमा ०।५ प्रतिशत देखि २ प्रतिशत जनसंख्यामा देखिने यो समस्याबारे मुलुकमा भने खासै अध्ययन गरिएको छैन । ‘कुन कारणले छालामा यो रंगको अभाव हुन्छ अझै रहस्य नै छ’, रंग प्रदान गर्ने कोष मेलानोसाइटको मृत्युबारे अझै वैज्ञानिकहरु पूर्ण रुपमा बुझ्न नसकेको औँल्याउदै छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्ण भन्छन्, ‘तर हामीलाई थाहा छ सेतो दुबी एकबाट अर्कोमा सर्ने र ज्यान लिने खालको समस्या हैन ।’
पश्चिमा मुलुकहरुमा पीडितले यसको उपचार नगरे पनि शरिरको रंगलाइ लिएर भेदभाव गरिने ठाउँमा सेतो दुबीको उपचार बढी हुने गरेको समेत उनले विश्व सेतो दुवी दिवसको अवसरमा मंगलबार क्युटिस केयरद्वारा आयोजित सेतो दुबी, जनचेतना कार्यक्रममा बताए ।
तर सेतो दुबी आएपछि यसले जीवनमा परिवर्तन हुन सक्छ । केही व्यक्तिमा आत्म विश्वासमा समेत कमी आउने गरेको देखिन्छ । उनीहरु सामाज, साथीभाइ आफन्तमा राम्ररी घुलमिल गर्नबाट बाँच्न चाहन्छन् भने उदासी रोग डिप्रेसनबाट समेत प्रभावित हुन सक्ने डा.कर्ण औँल्याउँछन् ।
सेतो दुबी छाला, कपाल,आँखी भौ, परेला, खप्पर, दाढी, आँखा, मुखभित्र, यौन अंग आदि जुनसुकै ठाउँमा हुन सक्छ । ‘विश्वमा दसौ लाख व्यक्ति सेतो दुबीबाट पीडित छन् भने यसमध्ये आधा जतिलाई २१ वर्षभन्दा अगावै यो समस्या देखिन्छ’, डा.कर्ण भन्छन् ।
बच्चालाई उपचार गरे यो समस्या चाडै निको हुने गरेपनि उमेर बढ्दै जाँदा यसलाई निको हुने समय समेत बढने गरेको छ । यसको उपचार फोटो थेरापी, शल्यक्रिया, लेजर थेरापी, मेलानोसाइट प्रत्यारोपण लगायतबाट गरिन्छ ।