Saturday, 19, October, 2019

चिनियाँ टोलीले थाल्यो नुवाकोट दरबारको पुनर्निर्माण

विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नुवाकोटको सात तले दरबार क्षेत्रमा रहेको सम्पदाको पुनर्निर्माण थालिएको छ। चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले सात तले दरबार तथा वरिपरिका सम्पदा पुनर्निर्माण थालेको हो।

नुवाकोट दरबार क्षेत्रभित्रको सात तले दरबार, गारद घर, रंगमहल, बहादुर शाहको बैठक कक्षलगायत दरबार क्षेत्रभित्र रहेको विष्णु र नारायण मन्दिरको पुनर्निर्माण थालिएको दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले बताए। आसपासमा रहेको सेतोपाटी र लामपाटी पनि चीन सरकारकै सहयोगमा बनाइने उनले जानकारी दिए।

२०७२ साल वैशाखमा गएको भूकम्पले दरबार लगायतका सम्पदाहरूमा क्षति पुगेको थियो। विनाशकारी भूकम्पले दरबार क्षतिग्रस्त बनाएपछि चीन सरकारले गत २०७२ साल साउन महिनामा मर्मत गर्ने प्रतिबद्धता जनाएको थियो।

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको पहलमा चीनका राजदूतसहितको टोलीले सात तले दरबार राष्ट्रिय संग्रहालय पुगेर दरबार मर्मतको प्रतिबद्धता जनाएको थियो।

दरबार तथा सम्पदा पुनर्निर्माणको लागि चिनियाँ प्राविधिकहरूले पटक–पटक दरबार क्षेत्रको निरीक्षण गरेको थियो। चिनियाँ प्राविधिक टोलीले सात तले दरबारको स्थलगत रुपमा ड्रोन क्यामेरामार्फत निरीक्षण गरेको थियो।

पृथ्वीनारायण शाहले १८०१ साल असोज १५ गते नुवाकोट टाकुरेमाथि तेस्रो प्रयासमा विजय प्राप्त गरेपछि गोर्खाली सेनाले १८१६ सालमा सात तले दरबार निर्माण गरेका थिए। गीर्वाणयुद्ध वीरविक्रम शाहको पालामा २५ वर्षसम्म सोही दरबारबाट नेपालको शासनसत्ता सञ्चालन भएको थियो।