Saturday, 19, October, 2019

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।

विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त हुँदा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सेतोपाटीलाई जानकरी दिए।

पोखरेलका अनुसार लालबन्दी नगरपालिका(१ लखनदेवी खोलाछेउमा प्रहरी र विप्लव माओवादीबीच दोहोरो गोली हानाहान भएको हो । दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको पोखरेलले बताए।

‘विप्लव कार्यकर्ताको पछि लागेको प्रहरीमाथि गोली प्रहार भएपछि दोहोरो भिडन्त भएको हो,’ पोखरेलले भने, ‘दुइटा मोटरसाइकलमा रहेका उनीहरूले गोली फायर गर्दै जंगल पस्ने क्रममा जवाही फायर हुँदा विप्लवका जिल्ला इञ्चार्जको मृत्यु भएको हो।’

अन्दाजी ४५ वर्षीय पौडेलको घटनास्थलमै मृत्यु भएको छ। गोली लागेर मृत्यु भएका पौडेलको साथबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको प्रवक्ता पोखरेलले बताए।

विप्लवका कार्यकर्ताहरूले गतिविधि गरिरहेको सूचनाका आधारमा त्यहाँ दुई नम्बर प्रदेश प्रहरी, विशेष ब्यूरो र ईलाका प्रहरी कार्यालय लालबन्दीको टोली गएको थियो।

‘दुवै पक्षबाट केहीबेर फायर चल्यो,’ घटनास्थलमा रहेका दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने, ‘गोली चल्न बन्द भएपछि घटनास्थलमा जाँदा शव फेला परेको हो।’

उनका अनुसार घटनास्थलमा विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ र अर्को अनटेस्ट मोटरसाइकल भेटिएको छ।

घटनाको कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ।

घटनामा संलग्न अन्य तीन जना फरार रहेको प्रहरीले बताएको छ