Sunday, 24, September, 2023

गोदावरी पर्यटकको पहिलो रोजाइमा पर्नेछ : राज घिमिरे, समाजसेवी, यूवा नेता

धार्मिक पर्यटकीय नगरी गोदावरीलाई स्वच्छ, सफा हराभरा कायम राख्न म लगाएत सामाजिक अभियन्ता, स्थानियबासी निरन्तर खटिरहेका छौं र हाम्रो कोशिस जारी नै छ ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अति सम्भावना बोकेको ललितपूर जिल्ला पर्यटकहरुको पहिलो रोजाईमा पर्दछ । पर्यटकिय र धार्मीक हिसाबले अति नै महत्वपूर्ण गोदावरी क्षेत्रमा सडकको दुराबस्थाले गर्दा यहा आउने, जाने यात्रुले धेरै सास्ती भोग्नु परेको छ । नगरपालिका भित्र सडक समस्या नै सबैभन्दा ठूलो चुनौती रहेको छ । अरु जतिसुकै राम्रा कामहरु जनप्रतिनिधिले गरे पनि सडक समस्याकै कारण उक्त राम्रा कामहरु ओझेलमा परेका छन् । हाल गोदावरीमा बाह्रवर्षे सिंहअस्त मेला लाग्ने स्थान, मन्दिर, गोदावरी स्नानकुण्ड जिर्णोद्धार कार्य समेत भइरहेको छ । गोदावरी नगरपालिकाका समक्ष सडकको अवस्थाबारे जानकारी गराउदा छिट्टै मर्मत हुने आश्वासन दिएपनि विभिन्न कारण सडक मर्मत कार्य रोकिएको अवस्था छ ।

मुआब्जा बिबादको कारणसंगै ठेकेदार अनि सरोकारवालाले पहल नगर्दा स्थानीयले दुःख झेल्नुपरेको हो । सडक छेउमा घर जग्गा पर्ने अधिकांश स्थानीयलाई सरकारले समयमा र उचित मुआब्जा नदिँदा सडक विस्तार रोकिएको छ । तर यसरी राजनीतिक आग्रह र पूर्वाग्रहलाई बिर्सेर सबै जना एक भएर विकास निर्माणमा लाग्नु अहिलेको टड्कारो आवश्यकता छ ।

गोदावरी नगरपालिका– ३ मा पर्ने टौखेल क्षेत्र आसपास केही भाग मात्रै फराकिलो पारिए पनि अहिले धुलो र हिलोका कारण सडक भत्किएको छ । पटक–पटक नगरपालिकालाई हार गुहार गर्दा पनि विभिन्न बहाना गर्दै मर्मत सम्भारमा गम्भीर चासो नदिएको देखिएको छ । स्थानियबासीलाई हिड्न, डुल्नदेखि पर्यटकहरुलाई पनि सडककै कारण सास्ती भइरहेको छ । चाँडोभन्दा चाँडो धुँवा, धुलो र कष्टकर दैनिकीबाट मुक्ति दिनु सम्बन्धित निकायको कर्तव्य हो ।

गोदावरी नगरपालिकाको प्रकृति र सम्पदाहरु पनि उत्तिकै सुन्दर र सम्भावनायुक्त रहेको छ । प्राकृतिक र सांकृतिक रूपमा रूपमा सुन्दर रहेको गोदावरी नगरपालिकालाई देशभरीकै नमुना नगर बनाउनका लागि प्रशस्त आधारहरु रहेको छ ।

गोदावरी मात्र नभइ ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल फुलचोकी पनि नम्बर १मा नै पर्दछ । पाटन देखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित ,समुद्री सतह देखि २,७६२ मि ,को उचाईमा रहेको यस पर्वत काठमाडौ उपत्यकाको सबैभन्दा अग्लो स्थान हो । यो डाँडा घुम्न धेरै पर्यटकको भिड लाग्ने गर्दछ । चिसो मौसममा हिउँ खेल्न जानेहरुको लर्को लाग्ने गर्दछ । तर फुलचोकी जाने बाटोको हालत पनि भयावह नै भएका कारण त्यहाँ भने पदमार्ग निर्माण कार्य भइरहेको छ । यसालाई सकारात्मक मान्न सकिन्छ । जनप्रतिनिधि र स्थानिय निकायको सहयोगमा यो सम्भव भएको हो ।

चापागाउँ, गोदावरीलगायतका सडक खण्डहरु मुआब्जा र क्षतिपूर्तिका विवादका कारण काम अघि बढ्न नसकेको गुनासोप्रति चाँडोभन्दा चाँडो सरोकारवाला हरुसंग छलफल गरेर आवश्यक सबै मुआब्जा र क्षतिपूर्ति दिनका लागि सरोकारवाला निकायले चासो दिनुपर्छ । काठमाडौँ, काभ्रे र मकवानपूर जिल्लालाई छुने उपत्यकाकै ठूलो गोदावरी नगरपालिकामा कृषि र पर्यटनको अपार सम्भावना रहेको छ ।

के सातदोबाटो देखि गोदावरी सम्मको अति जोखिमयुक्त बाटो स्तरउन्नतीका लागि चापागाउको झै आन्दोलन, चक्का जाम, नाराबाजी भए पछी मात्र हुने हो र ? के सरोकारवाला निकाय आफैले समय मै ध्यान दिनु पर्ने हैन र ? के जनताले यहि देख्न भोग्न जिताएको हुन र जनप्रतिनिधिलाई ? अब जनतामा सहन सक्ने धैर्यताका बाँध फुट्न मात्र बाँकी छ । आशा गरौं सरोकारवाला निकाय अनि ब्यक्तीहरुले समय मै ध्यान दिइ जनताको समस्या, चाहाना सम्बोधन गर्दै सम्बधित निकाय अनि जनप्रतिनिधि भएको आभास गर्ने अनि गराउने छन् ।

उपत्यकाकै सुन्दर, रमणीय,र सम्भावनायुक्त रहेको गोदावरी नगरपालिका देशकै नमुना नगर बनाउनका लागि प्रशस्त श्रोत साधन र आधारहरु रहेका छन् । यदि यसलाई अवसर मानि यसको सही सदुपयोग गरेमा गोदावरी उपत्यकाको मात्र नभइ देशकै नमुना नगर बन्ने दुइमत छैन ।

(लेखक गोदावरी नपा, टौखेलका स्थानिय यूवा नेता एवं समाजसेवी हुन्)

सम्बन्धित समाचारहरु