Friday, 06, December, 2019

शाश्वतधाममा पाँच दिवसिय आचार्य स्वाध्याय वर्ग सम्पन्न

नवलपुर । नेपालमा हाल सञ्चालनमा रहेका गुरुकुलका आचार्यहरूका लागि ५ दिने आचार्य स्वाध्याय वर्ग सम्पन्न भएको छ । शाश्वतधाम नवलपुरमा आयोजना गरिएको स्वाध्याय वर्गमा देशभरका करीव १०० गुरुकुलका प्रतिनिधिहरूको सहभागिता थियो ।

यस कार्यक्रमले गुरुकुलका सञ्चालक आचार्यहरूलाई उत्साहित र क्रियाशील बनाउनुका साथै आगामी कार्यदिशा तय गर्न मद्धत पुग्ने विश्वास लिइएको नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुलप्रसाद कोइरालाले बताए । नेपाल शिक्षण परिषद् गुरुकुल प्रभागको आयोजनामा २०७६ वैशाख १३ देखि १७ गतेसम्म सम्पन्न यस कार्यक्रममा शाश्वतधाम सहआयोजकको भूमिकामा रहेको थियो ।

गुरुकुलका आचार्यहरूको प्रशिक्षणको रूपमा सञ्चालित स्वाध्यायवर्गमा प्रत्येक दिन विहान ५ बजेदेखि प्राणविद्याको चिन्तन, योगानुशासन, सामूहिक सन्ध्योपासनसँगै यज्ञानुष्ठान समेतका विभिन्न कार्यक्रमहरू गरिएको थियो । कार्यक्रमको दोस्रो, तेस्रो, चौथो दिनमा शिक्षाविद् प्रा।डा।विद्यानाथ कोइराला, भारतीय दूतावासका प्रथम सचिव एवं विवेकानन्द सांस्कृतिक अध्ययन केन्द्रका प्रमुख डा। केदारनाथ शर्मा, पाणिनीय व्याकरणका विद्वान्न् डा। भोलानारायण रेग्मी, भाषाशास्त्री डा। प्रेमप्रसाद चौलागाई समेतले कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शाश्वतधामका प्रमुख कार्यकारी नारायण श्रेष्ठले शाश्वतधामका उद्देश्य र विभिन्न गतिविधिको चर्चा गर्दै शाश्वतधामका समग्र योजनाबाट सनातन धर्म र संस्कृति जगेर्ना गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।