Thursday, 23, September, 2021

पथरी प्रकरण : मध्यरातमा ठेला गुडाउने को हो?

शनिबार विहान डेरा अगाडि नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेतको मृत्युको कारण पत्ता लगाउन प्रहरीलाई हम्मे हम्मे परिरहेको बेला बिहीबार सीसीटीभी फुटेज बाहिरिएको छ ।
फुटेजमा सोहि रात रिनाको घर अगाडिको सडकमा एउटा रिक्सा गुडेको देखिन्छ । चालकको अनुहार चिनिँदैन तर, रिक्सामा केही देखिन्छ । केही घन्टापछि फेरि रिक्तो रिक्सा त्यही सडकमा गुड्छ । यसले रिनाको मृत्युबारे अनेक आशंका भइरहेका बेला धेरैले ‘रिक्सामा देखिएको अज्ञात बस्तु हत्या गरेर फाल्न लगेको रिनाको शव हुनसक्ने आशंका गरे ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई पनि सीसीटीभी नियाल्न बाध्य पार्यो । प्रहरीले मध्यरातमा सीसीटीभीमा कैद भएका ठेला सञ्चालकको पहिचान पनि गरेको छ । तर, उनको रिना मृत्य प्रकरणमा संलग्नता नदेखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ठेला चालक तरकारी पसलमा काम गर्ने मजदुर भएको खुलेको छ । ‘राति ठेला कुदाउँदै आएका व्यक्ति मजदुर हुन्’ प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठले भने, ‘रिनाको मृत्यु प्रकरणमा उनको संलग्नता देखिँदैन ।’उनको नाम भने सार्वजनिक गरिएको छैन । उनले प्रहरीलाई दिएको बयानअनुसार राति ठेला चलाउने क्रममा शव देखेका थिए तर, प्रहरीलाई खबर गरेनन् ।

पोष्टमार्टमको प्रारम्भिक रिर्पोट आयो

प्रहरीकाअनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिनाको पोष्टमार्टमको प्रारम्भिक रिर्पोट आएको छ तर, हत्या गरेर फालेको प्रमाण भेटिएको छैन । पोष्टमार्टम रिर्पोटले घरमाथिबाट झरेको आशंकालाई बल पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए । ‘प्रारम्भिक पोष्टमार्टम रिपोर्टले टाउको र छातिभित्र चोट लागेको देखिन्छ’ उनले भने । स्थानीयले उनको बलात्कारपछि हत्या गरेर सडकमा फालेको हुनसक्ने आशंका गरेका थिए । तर प्रारम्भिक रिपोर्टमा बालात्कार भएको प्रमाण पनि देखिएको छैन । यद्यपि फरेन्सिक जाँचका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । मदिरा सेवन गरे नगरेको विषय फरेन्सिक रिपोर्ट आएपछि थाहा हुनेछ ।

शुक्रबार राति पथरीमा आयोजित कन्सर्टमा हेरेर कोठा फर्किएकी रिना बस्नेत डेरा अगाडि नग्न अवस्थामा मृत भेटिएकी थिइन् । उनका श्रीमान विदेशमा थिए । छोरासँग बस्दै आएकी उनी कमल नेपालसँग प्रेम सम्बन्धमा थिइन् ।

कमलको पोलिग्राफ टेस्ट

प्रहरीले रिनाका प्रेमी भनिएका नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक बयानमा कमलले रिनासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका–३ घर भइ पथरीमा व्यवसाय गर्दै आएका नेपालको पोलिग्राफ टेष्ट गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

रिनाको मृत्युलाई लिएर स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि मंगलबार दिनभर पथरी तनावग्रस्त भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २९ सेल अश्रूग्यास प्रहार गरेको थियो । मंगलबारै साँझ प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाकोको नेतृत्वमा छानविन टोली गठन भएपछि आन्दोलन रोकिएको छ ।