Friday, 07, May, 2021

‘चौवन्दी चोलो र फरियालाई राष्ट्रिय पोशाक घोषणा गर्न किन कञ्जुस्याइ ?’

सोमबार, २ बैशाख, २०७६
काठमाडौं । चौवन्दी चोलो र फरिया (साडी)लाई राष्ट्रिय पोसाकको रुपमा घोषणा गरी राज्यले राष्ट्रिय दिवस मनाउन काठमाडौंका महिलाहरुले माग गरेका छन् ।

लायन्स क्लब अफ काठमाडौं ‘टेम्पल गणेश’मा आवद्ध महिलाहरुले नयाँ बर्ष २०७६ सालको अवसर पारेर आइतबार एक समारोहको आयोजना गरी यस्तो दबाब सिर्जना गरेका हुन । पहिचान विना समृद्धि नहुने भएकाले दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई राष्ट्रिय पोशाक घोषणा गर्न माग उठिरहेका बेला लायन्स क्लबका महिलाहरु गतबर्ष देखि नै एकजुट हुँदै आएका हुन ।

लायन्स क्लब अफ काठमाडौं ‘टेम्पल गणेश’ले आयोजना गरेको ‘राष्ट्रिय चौवन्दी चोलो र फरिया९साडी० दिवसका अवसरमा पूर्वमन्त्री कमला पन्तले राष्ट्रिय पोसाक धरोहर भएकाले संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताइन । उनले प्रश्न गरिन्, ‘विश्रृखंल बन्दै गएको समाजमा सभ्य बनाउने पोशाकलाई राष्ट्रिय मान्यता दिन राज्यलाई किन अफ्ठयारो भयो ?’

साहित्यकार भागिरथी श्रेष्ठले भाषा, साहित्यलाई जस्तै राष्ट्रिय पोशाकलाई पनि माया गर्नुपर्ने बताइन । लायन्स अभियन्ता गिरीधारी शर्माले राष्ट्रिय पोशाक अभियानलाई विश्वब्यापी बनाउनुपर्ने बताए ।

राष्ट्रिय पोशाकका अभियन्ता राजानन्द माण्डवीले सरकारले दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई राष्ट्रिय पोशाक घोषणा गर्न बाध्य बनाउन सामूहिक दबाब आवश्यक रहेको बताए । कार्यक्रममा लायन्स क्लबका अभियन्ताहरु निरा बज्राचार्य, सुचित्रा घिमिरे, नानु नगरकोटी, इन्दिरा नेपाल, अनिता थापा विष्टले यो अभियानमा सबैले साथ दिनुपर्ने बताए ।

त्यसैगरि कार्यक्रममा सञ्चारकर्मी सन्तोषी अधिकारीले हरेक संचार गृहबाट नेपाली परम्परा जगेर्नाका लागि जनचेतना मूलक कार्यक्रमलाई स्थान दिनुपर्ने धारणा राखिन् । उनले आफ्नो माटो र मुलुकको परिचय जोडिएको पहिरनले नै हाम्रो अस्तित्व बोध गराउने बताउदै हरेक नेपालीले आफ्नो पहिचान जिवित राख्न राष्ट्रिय पहिरन चौबन्दी चोलो र फरियालाई नेपालमा मात्र नभएर विश्वमै चिनाउनुपनेमा जोड दिइन् ।

सोही अवसरमा लायन्स क्लब अफ काठमाडौं ‘टेम्पल गणेश’ले आफ्नो बार्षिकउत्सव पनि मनाएको छ । कार्यक्रमका अवसरमा नृत्य तथा कविता पनि सुनाइएको थियो ।

दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई राष्ट्रिय पोशाक २०६८ सालसम्म राष्ट्रिय पोशाककै रुपमा सरकारले राखेको थियो  । तर २०६८ सालमा तत्कालीन सरकारले राष्ट्रिय पोशाक खारेज गरेको थियो ।