Friday, 07, May, 2021

महागुरुमा कालभैरवसँग कुराकानी – सन्तोषी अधिकारी

पुस्तक समिक्षा

सन्तोषी अधिकारी
कथा कविता तथा गीत गजलबाट साहित्यिक यात्रा सुरु गरेका स्रष्टा महेश शमशेर राणा लेखनको एक दशकपछि अध्यात्म साहित्यतर्फ फड्को मारेका छन् महागुरु कृति मार्फत ।
महागुरु कृृति धार्मिक तथा अध्यात्मतर्फ लेखक राणाको महत्वपूर्ण फड्को हो । कथा कविता वा गीत गजल लेखनबाट यसरी धार्मिक तथा अध्यात्म सम्बन्धी तन्त्रमन्त्रको विषयमा लेख्नु भनेको ठूलो कुरा हो । त्यही भएर आफ्नो भनाइमा लेखकले यसलाई दुस्साहस समेत भनेका छन् । पुस्तकको समग्र अध्ययनपछि यसलाई पढ्ने हरेक पाठकले यसलाई निश्चय पनि लेखक राणाको दुस्साहस भनेर स्वीकार्ने छन् । कालभैरव लगायत यस कृतिमा रातो मछिन्द्रनाथ, दक्षिणकली माता, तलेजु भवानी, पशुपतिनाथ मन्दिर लगायत धार्मिक तन्त्रमन्त्र सम्बन्धी विविध विषयको जानकारी दिइएको छ ।
महागुरु श्री कालभैरवसँग संवार्ता भनेर प्रकाशित भएको यस कृतिमा भक्ति प्रवेश, साधना विधान, माता छिन्नमस्ता साधना, श्री बटुक भैरव साधना, काल भैरव यन्त्र साधना, श्री महागुरु काल भैरवसँग संवार्ता, श्री दश महाविद्या लघु माहात्म्य, श्री विद्या महिमा र श्री यन्त्र माहात्म्य गरी नौ वटा अध्याय छन् ।

 

(स्रष्टा महेश शमशेर राणा)

नौवटै अध्याय अत्यन्त मेहनत र धैर्यताका साथ लेखिएका छन् तर ध्यान, योग, मन्त्रोच्चारण, सिद्धि साधना, ईश्वरीय रहस्य, अध्यात्म, जीवनमा दुःखका कारणहरु आदि विविध विषयमा श्री महागुरु कालभैरवसँग संवार्ता शीर्षक भएको अध्यायमा विस्तारपूर्वक संवाद गरिएको छ । कालभैरवसँग गरिएको यो संवादमा जीवनोपयोगी कुराहरु छन् त्यसैको महत्वले गर्दा नै लेखकले पुस्तकको नामकरण यसै शीर्षक राखिएको अनुमान गर्न सकिन्छ ।
यसैगरी पुस्तकमा बटुक भैरवको साधना, काल भैरव यन्त्र साधना, श्री दश महाविद्या लघु माहात्म्यमा उल्लेख गरिएका विषयले पनि धार्मिक विषयमा उत्तिकै महत्व राख्दछ । धार्मिक अनुष्ठानका लागि आवश्यक तत्वहरुको वर्णन त्यसको उपयोगिता, विविध श्लोकहरुको माध्यमबाट ईश्वरीय महिमा गान तथा त्यसको ब्याख्या गरिएको छ ।
वास्तवमा यस प्रकारको कृति सामान्य समय र चानचुने अध्ययनले तयार हुँदैन । त्यसका लागि लामो साधना र गम्भीर अध्ययनको खाँचो पर्दछ । लेखक राणाले यस कृतिलाई ३० वर्षको साधना र मेहनत भनेका छन् । निश्चय पनि कृतिको अध्ययन अवलोकनपछि लेखमको उक्त भनाइप्रति सहजै विश्वास गर्न सकिन्छ ।


सम्बन्धित विषयका विज्ञ तथा जानकारहरुका लागि यो कृति निकै फलदायी र अनुसन्धानमूलक त हुनेछ नै सामान्य पाठकका लागि पनि यसभित्रका कतिपय कुरा रुचिकर र पठनीय लाग्नेछ । लेखक राणाको मेहनत र लगनशीलताले गर्दा एउटा विचित्र विषयको अध्यात्म सम्बन्धी कृति सार्वजनिक भएको छ , त्यसका लागि लेखक महेश शमशेर राणा धन्यवादका पात्र भएका छन् ।