Friday, 07, May, 2021

विमानस्थलमा ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ

२१ चैत, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले बताए। हाल उनीहरुको परिचय खुलाइएको छैन । उनका अनुसार बरामद सुन गहनाको रुपमा ल्याइएको थियो । ‘हामीले सुन सक्कली हो या होइन भन्ने जाँच्नलाई पठाएका छौं’, भण्डारीले भने, ‘जाच्न पठाएको मध्ये ४ सय ९७ दशमलब ६५ ग्राम सुन सक्कली भएको देखिएको छ । अन्य परीक्षण हुँदैछ । उनले परीक्षणपछि मात्रै थप प्रष्ट हुने बताए । जलप लगाएर गरगहनाको रुपमा सुन ल्याइएकाले परीक्षणपछि मात्रै यकिन हुने उनको भनाइ छ । थप अनुसन्धान जारी छ ।

यसअघि उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानका क्रममा करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणको फर्दाफास भएसँगै विमानस्थलबाट हुने तस्करीको सेटिङ ध्वस्त भएको सुरक्षा अधिकारीले बताउँदै आएका छन् ।