Friday, 07, May, 2021

बारा, पर्सामा हावाहुरीले मृत्यु हुनेको संख्या ३५ पुग्यो (अपडेट)

बारा । बारा र पर्सामा आइतबार राति भीषण आँधी र हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आइतबार राति आठ बजेतिर एक्कासि आएको आँधी र हावाहुरीबाट बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएको हो । ५ सय भन्दा धेरै घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै छ । घाइतेहरु धेरै भएका कारण मृत्यु हुनेहरूको संख्या बढ्न अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

घाइतेहरूको बारा र पर्साका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
घाइतेमध्ये नारायणी अस्पतालमा १०० जना, नेशनल मेडिकल कलेज वीरगञ्जमा १०० जना, वीरगञ्ज हेल्थ केयरमा १०० जना, गण्डक अस्पतालमा २७ जना र एड्भान्स हस्पिटलमा २० जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

बारा प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन। क्षति धेरै भएकाले मृतक र घाइतेको संख्या अझै बढ्ने अनुमान गरिएपनि डिआईजी हरि पालले बिहानसम्म थप घटनाको जानकारी नआएको बताएका छन्।

घाइतेहरूको उद्धार कार्य जारी रहेको र उनीहरुको कलैया, वीरगञ्ज अस्पतालका साथै नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। अधिकांशको घर र छानाले च्यापिएर मृत्यु भएको छ, डिएसपी राठौरले भने।

घाइतेहरूको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। संघीय प्रहरी इकाई कार्यालय धनुषाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइराला, बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराई र पर्साका उपरीक्षक रेवती ढकालसहित सशस्त्र प्रहरीसमेतको टोली घटनास्थलमा खटिएको छ। घाइतेहरूको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिइएको छ । हावाहुरीले बिजुलीका पोलहरू लडेर र टिनका छाना उडाएका छन् । पर्खाल लडेर र माटोबाट बनेका कच्ची घरहरूमा बढि क्षति पुगेको छ । यता, घाइतेको संख्या बढेपछि भुइँमै राखेर उपचार गरिदैछ । प्रभावित जिल्लाहरूका रगतकोअभाव देखिएको अस्पतालहरुले जनाएका छन् ।