Thursday, 17, October, 2019

कविता

 

                        आशङ्का

भागवत आचार्य

काला बादल खेल्दथे गगनमा धर्ती अँधेरा थिए
जे जे झुल्कन खोज्दथे किरण ती झ्याप्पै स्वयम् निभ्दथे
झुल्केथ्यो यसबीच सूर्य नभमा आशा छरेको थियो
शङ्का लाग्दछ आज निभ्छ कि कतै आशा भरेको दियो ।

चाहन्थे जनले स्वतन्त्र रहँदै निर्धक्क मुस्काउने
आशाकै जगमा फुली प्रगतिले समृद्धता ल्याउने
यस्तो दिव्य र भव्य चाह सबमा वात्सत्य झैँ रम्दथ्यो
चिन्ता लाग्दछ आज निभ्छ कि कतै आशा भरेको दियो ।

छर्दैनन् जब सूर्यले किरण खै त्यो झट्ट वैलाउँछ
फाल्दैनन् जब चन्द्रले शितलता आशा सबै मर्दछ
दिन्नन् फूल त वासना यदि भने के आस भो फूलको
झ्याप्पै निभ्छ कि भित्र ज्योत सबको आशा भरेको दियो ।

मर्दैनन् जब प्यास भित्र सबमा पानी छ के काम भो
उठ्दैनन् जब जीन्दगी र जगमा नेतृत्व के काम भो
छाया दिन्न त वृक्षले यदि भने गाछी मरेझैँ भयो
चिन्ता लाग्छ सदैव मर्छ कि कतै आशा भरेको दियो ।

खेप्दैछौँ कति खेप्नु पर्दछ यहाँ कुकृत्यका डङ्गुर
देख्दामा मृग देख्छु यी नयनले संस्कार छन् बङ्गुर
नेपाली जनबीच काककुलको समृद्धि आशा थियो
छिट्टै त्यो अब शीघ्र सार्थक बलोस्, आशा भरेको दियो ।