Friday, 23, April, 2021

भक्तपुर क्यान्सर अस्पतालमा भित्रीयो अत्याधुनिक लिनायक मेसिन

भक्तपुर । नेपाल अर्बुद रोग निवारण संस्थाद्धारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने अहिलेसम्मै अत्याधुनिक रेडियोथेरापी उपकरण लिनायक मेसिन भित्र्याएको छ । अमेरिकी प्रविधिको लिनायक आईएक्स नामक उक्त मेसिन जडान कार्य भइरहेको अस्पतालले जनाएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले २०७६ सालको बैशाख १ गतेदेखि सेवा सञ्चालनमा ल्याउने लक्ष्यका साथ मेसिन जडान कार्य द्रूत गतिमा भइरहेको जानकारी दिए । उनका अनुसार अस्पतालले लिनायक मेसिन जडानको लागि करिब दस वर्षअघि नै १० करोड लागतमा बंकर निर्माण गरिसकेको छ । यस मेसिनले रेडियो विकीरणमार्फत क्यान्सरको उपचार गर्ने भएकाले उक्त रेडियो विकीरण वाहिरी वातावरणमा चुहिन नदिन बंकर आवश्यक पर्छ । ‘अहिले लिनायक मेसिन जडानको लागि बंकरभित्र निर्माण कार्य भइरहेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘उक्त बंकरमाथि ब्रेकिथेरापीको लागि अर्को सानो आकारको बंकरसमेत निर्माण भइरहेको छ ।’ यसअघि मेसिन जडान गर्न बंकंर निर्माणका लागि जग तथा भूमि तान्त्रिक वास्तु पूजा समेत गरिएको थियो ।


के हो लिनायक आईएक्स मेसिन ?
यो मेसिन क्यान्सर उपचारमा अहिलेसम्म प्रयोगमा आएको इन्टेनसिटी मोडुलेटेड रेडियसन थेरापी (आईएमआरटी) एवं थ्रीडी–सीआरटी प्रविधिको हो । भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी विभागका निमित्त प्रमुख डा. उज्ज्वल चालिसेले यो मेसिनले बिरामीलाई जहाँ क्यान्सर लागेर विकीरण दिनुपर्ने हो, त्यहीं ठाउँमा सत प्रतिशत विकीरण दिने दावी गरे । त्यसैले क्यान्सर लागेको कोषिकालाई सेकेर मार्न यो मेसिन अति प्रभावकारी रहेको उनको भनाइ थियो । ‘यस मेसिनले क्यान्सर लागेको कोषिकालाई मात्रै लक्षित गरेर सेक्छ’, डा. चालिसेले भने, ‘त्यसैले यसबाट उपचार गरिँदा क्यान्सर पुनः देखिने सम्भावना धेरै न्यून हुन्छ । विकीरण अन्त नपर्ने भएकाले यसको साइड इफेक्ट पनि अति कम हुन्छ ।’
उनका अनुसार लिनायक मेसिनले विद्युतीय ऊर्जामार्फत आफैले क्यान्सरका कोषिका मार्ने विकीरण तयार गर्छ । त्यसैले अरु विकीकरण जस्तो यो सामान्य कोषिकाको लागि हानिकरक नहुने उनको भनाइ थियो । ‘कोबाल्ट ६० मेसिनको दाँजोमा यसबाट छिटो उपचार हुन्छ’, उनले भने ।
‘बिरामीले अब लामो समय कुर्नुपर्ने बाध्यता हट्यो’
लिनायक मेसिन सञ्चालनमा आएपछि क्यान्सर बिरामीहरुले रेडियोथेरापीको लागि कुर्नुपर्ने बाध्यता हट्ने रेडियोथेरापी विभागका निमित्त प्रमुख डा. उज्ज्वल चालिसेले जानकारी दिए । अहिले अस्पतालले कोबाल्ट ६० मेसिनबाट क्यान्सर बिरामीहरुलाई सेवा दिँदै आएको छ । उक्त मेसिनले दैनिक एकसयजनासम्मलाई सेक्दै आएको उनले बताए । उक्त मेसिनबाट उपचार पाउन करिब एकसय पचास जना बिरामी प्रतिक्षासूचीमा छन् ।
‘कोबाल्टबाट रेडियोथेरापी सेवा लिनेहरुको प्रतिक्षासूची २०७६ सालको बैशाख १८ गतेसम्म पुगिसकेको छ’, डा. चालिसेले भने, ‘तर लिनायक मेसिन सञ्चालनमा आएपछि बिरामीहरुले उपचारको लागि कुर्नुपर्ने छैन ।’
उनका अनुसार लिनायक मेसिन सञ्चालनमा आएपछि क्यान्सर बिरामीको रेडियोथेरापी उपचारको लागि दैनिक प्लानिङ गर्न सकिन्छ । तर अहिले सातामा एकदिनमात्रै प्लानिङ हुँदै आएको छ । ‘लिनायक सञ्चालनमा आएपछि उपचारको लागि दैनिक प्लानिङ गर्न सकिन्छ’, उनले थपे, ‘जसले गर्दा बिरामीले उपचारको लागि अहिले जस्तो कुर्नुपर्ने छैन ।’ लिनायक मेसिन सञ्चालन गर्न भक्तपुर क्यान्सर अस्पतालसँग चारजना विशेषज्ञ चिकित्सकहरु रहेका छन् । अस्पतालका मेडिकल निर्देशक प्रो डा. ऋषिकेशनारायण श्रेष्ठले लिनायक मेसिन सञ्चालनकै लागि अस्पतालले ती चारजना विशेषज्ञ चिकित्सकहरुलाई विदेशमा विशेष अध्ययनको व्यवस्था गरिएको जानकारी दिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले लिनायक मेसिन सञ्चालनमा आएपछि अन्य निजी अस्पतालको दाँजोमा भक्तपुर क्यान्सर अस्पतालले सस्तो शुल्कमा उपचार सेवा दिने बताए ।