Friday, 06, December, 2019

आइपुगे भारतको मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली महिला

भद्रपुर । मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ। तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरूलाई आजै काठमाडौं लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताए। उनीहरू चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका काँकडभिट्टाबाट नेपाल आइपुगेको हो । मेची भन्सार परिसरमा छ वटा नेपालका बसमा स्थानान्तरण गरी उनीलाई आजै काठमाडौं पठाइएको छ। नेपालको विभिन्न नाकाबाट मणिपुर र्पुयाइएका उनीहरूलाई मानव तस्करीमा संलग्न दलालले अवैध रूपमा म्यान्मारको बाटो हुँदै इराक र संयुक्त अरब इमिरेट्स लैजान लागेको अवस्थामा उद्धार गरिएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए । उद्धार गरिएकामध्ये कतिपय बाटोमा बिरामी परेको र धेरैजसो तनावमा रहेको बताउँदै उनले उनीहरूलाई काठमाडौं लगेर पुनर्स्थापना गृहमा राखिने जानकारी दिए ।
‘उहाँहरू असाध्यै थकित र तनावमा हुनुहुन्छ, कतिपयसँग दलालले रु. चार, पाँच लाखका दरले पैसासमेत असुलेको रहेछ’, उपसचिव भुसालले भने, ‘पुनर्स्थापना गृहमा लगेर रेस्ट गराउँछौं र उहाँहरूलाई लैजाने दलालको बारेमा सम्बन्धित निकायमार्फत् अनुसन्धान गर्छौं।’ प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उद्धार गरिएका नेपालीलाई काठमाडौं पठाउने व्यवस्था मिलाउनका लागि बिहानैदेखि पूर्वी नाका काँकडभिट्टामा खटिएका थिए । ती नेपालीलाई इराक र युएई लैजाने गिरोहमा संलग्न भएको आशंकामा नौ जनालाई मणिपुर प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिइएको माइती नेपालका अध्यक्ष खड्काले जानकारी दिए ।