Friday, 23, April, 2021

नुवाकोटमा मिनिट्रक दुर्घटना : १८ जनाको मृत्यु, १६ घाइते



काठमाडाैं : नुवाकोटको घ्याङफेदीमा ४० जना सवार मिनिट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिकाको शिखरबेँसीबाट घ्याङफेदीको सिसिपुरतर्फ जाँदै गरेको बा३ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटनामा परेकाे हो ।

मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृत्यु हुनेमा घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डित रहेका छन् । बाँकीको सनाखत भएको छैन ।

मिनिट्रक दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडाको कच्ची सडकबाट ३ सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई उदृत गर्दै प्रहरी प्रवक्ता उत्तम केसीले जानकारी दिए ।

उनका अनुसार शिखरबेँसीको सिम्टाङमा घेवा(मृतकको अन्तिम संस्कार) सकेर उनीहरु मिनिट्रक चढेर फर्किदै थिए । घाइते १४ जनाको उद्दार भएको र अन्यको खोजीकार्य जारी रहेको उनले जानकारी दिए । घाइतेमध्ये ७ जना घाइतेलाई उपचारको लागि काठमाडौ पठाइएको छ । मिनिट्रकमा ४० जना बढी सवार रहेको प्रहरीको अनुमान छ ।