Tuesday, 24, November, 2020

‘श्रमिकको जोखिम न्यूनिकरणका लागि कोलम्बो प्रोसेस’

काठमाडौं। श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारको लागि जाने विशेष गरेर महिला घरेलुकामदार र अदक्ष लगायत श्रमिकको जोखिम न्यूनिकरणका लागि कोलम्बो प्रोसेसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित छैठौँ मन्त्रीस्तरीय कोलम्बो प्रोसेसको बैठकमा बोल्दै मन्त्री विष्टले यस्तो बताएका हुन्।  कामदार वैदेशिक रोजगारमा पठाउने विभिन्न एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन २००३ मा भएको हो।

मन्त्री विष्टले १२ वर्षदेखि कोलम्बो प्रोसेसको काम श्रमिकको हकहितको लागि कति परिणाममुखि भयो र आगामी दिनमा अबलम्बन गर्नुपर्ने मार्गचित्र तय गर्न कोलम्बो प्रोसेसको बैठक तय गरिएको बताए।

अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श स्थापना गर्न १२ वटा एशियाली राष्ट्रका मन्त्रीहरु तथा उच्च अधिकारीको उपस्थितिमा आयोजित कोलम्बो प्रोसेसमा श्रमिकका हकअधिकार सँग सम्बन्धित प्रावधान प्रष्ट रुपमा उल्लेख हुनपर्नेमा मन्त्री विष्टले जोड दिए।

उनले श्रमिकको उद्गम तथा गन्तव्य दुवै मुलुकको आपसी समझदारी कायम गरी श्रमिकको हक,अधिकार, बिमा, सुरक्षा, पारिश्रमिक लगायतका विषयमा ध्यान दिन जरुरी रहेको सम्बन्धमा धारणा व्यक्त गरे।

मन्त्री विष्टले रोजगारको लागि एक देशबाट अर्को देश श्रमिक जाँदा श्रमिकहरुमा हुने श्रम शोषण, ठगी, मानव तस्करी लगायतका विषयमा सबै राष्ट्रहरुले ध्यान दिइ सहकार्य गरेर अगाडि बढ्ने विषयमा छलफल गरिने भएकाले कोलम्बो प्रोसेसले थप श्रमिकको हक हितको विषय उठान गर्ने दावी गरे।

कार्यक्रममा बोल्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले कोलम्बो प्रोसेसमा संलग्न १२ राष्ट्रका ५० प्रतिशत भन्दा बढी श्रमिक वैदेशिक रोजगारमा आबद्ध रहेको बताउँदै श्रमिकको सीप तालिम र दक्षतामा समेत जोड दिनुपर्ने बताए।

उपप्रधानमन्त्री पोख्रेलले देशमा रोजगारीको सिर्जना पर्याप्त नहुँदा रोजगारको लागि विदेशीने देशका सक्रिय जनशक्तिलाई सुरक्षित र मर्यादित बनाउन सबै राष्ट्रहरुले भूमिका खेल्नुपर्नेमा जोड दिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोलम्बो प्रासेसमा आबद्ध सबै राष्ट्रहरुको आर्थिक अवस्था बलियो बनाउने सम्बन्धमा वैदेशिक रोजगारले नै महत्वपूर्ण भूमिका खेलेको बताए।

मन्त्री ज्ञवालीले वैदेशिक रोजगारबाट नै नेपाल लगायत कोलम्बो प्रोसेसमा आबद्ध राष्ट्रहरुको ७५ प्रतिशत रेमिट्यान्स भित्रिने भएकाले सबै राष्ट्रको सहकार्यमा वैदेशिक रोजगारलाई व्यबस्थित र सुरक्षित गर्नुपर्नेमा जोड दिए।

कोलम्बो प्रोसेसको छैटौँ मन्त्रीस्तरीय वैठकको अदक्षता नेपालले गरेको छ। कोलम्बो प्रोसेसमा वैदेशिक कामदारको हकहित प्रवद्र्धन सेवा, र सुविधाको संरक्षणका लागि नया गन्तव्य तथा बजारको खोजी, विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी एवं आप्रवासनको व्यबस्थापकीय क्षमता विकास, तथ्यांक संकलन र विश्लेषण एवं राष्ट्र राष्ट्र बिचको बैदेशिक रोजगारको क्षेत्रमा हुने सुधारलाई कोलम्बो प्रोसेसले प्राथमिकतामा राखेको छ।