Saturday, 28, November, 2020

२ महिनादेखि सधैं यो सडकमा आएर घण्टौं बस्थ्यो कुकुर, कसैले बुझेनन् यसको कारण

चीनको एक कुकुरको भिडियो अहिले संसारभर भाइरल भइरहेको छ । यो कुकुर पछिल्लो २ महिनादेखि सहरको एक सडकमा आएर घण्टौं बस्छ । घटना चीनको इनर मंगोलिया राज्यको होहोत सहरको हो । यो कुकुर किन यहाँ आएर बस्छ भने कसैले बुझेका थिएनन् । जब मानिसहरुले कुकुर त्यहाँ आएर बस्नुको कारण थाहा पाए त्यसपछि सबै भावुक बनेका छन् । यो कुकुर सधैं सडकको एक व्यस्त रोडमा आएर बस्छ । सडकमा घण्टौं बसेर यो कुकुर आफ्नो मालिक आउने प्रतिक्षा गर्छ ।

यो कुकुरको मालिकको यही सडकमा गत अगष्ट २१ मा भएको सडक दुर्घटनामा ज्यान गएको थियो । कुकुर त्यही ठाउँमा बस्छ जहाँ उसको मालिकको दुर्घटना भएको थियो । यसरी ऊ आफ्नो दुःख प्रकट गर्छ । कुकुरको जुन भिडियो भाइरल भइरहेको छ त्यसमा ऊ आधा रातमा रोडको बीचमा लगाइएको रेलिङनजिकै उभिएको छ । भिडियोमा कुकुर निकै उदास देखिएको छ । जब क्यामेराम्यान उसको नजिक जाने कोसिस गर्छन्, कुकुर भाग्छ ।

गुओ नामका एक ट्याक्सी ड्राइभरका अनुसार यो कुकुर सधैं त्यहीँ देखिन्छ । मौसम जस्तोसुकै होस् कुकुर यहीँ देखिन्छ । जसले आफूलाई निकै भावुक बनाउने उनले बताए । ड्राइभरका अनुसार उसका मालिक र उसको बीच निकै गहिरो नाता थियो जसलाई अरुले बुझ्न सकेनन् । केही मानिसहरुले खाना दिएर उसलाई मद्दत गर्ने कोसिस पनि गरे तर अन्जान मानिस देखेपछि ऊ भाग्छ र केही बेरपछि पुनः त्यहीँ आउँछ ।

एजेन्सी