Wednesday, 25, November, 2020

मकवानपुरमा रक्सी बनाउन ३२ सय टन खाद्यान्न

मकवानपुर । दुर्गम जिल्लाले खाद्यान्न अभाव व्यहोर्दै आइरहेको अवस्थामा कमवानपुरमा भने बर्सेनि तीन हजार २०० टनभन्दा बढी खाद्यान्न मादक पदार्थ उत्पादनमा प्रयोग गरिन्छ। यो खाद्यान्नले करिब १६ हजार जनसंख्यालाई वर्षदिन खान पुग्छ।

जिल्लामा उत्पादित खाद्यान्नको दुई दशमलब ४८ प्रतिशत खाद्यान्न मादक पदार्थ उत्पादनमा प्रयोग हुने गरेको प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अर्थविद सुजन कँडेलले बताए। मन्त्रालयका अनुसार मकवानपुरमा गत वर्ष दुई हजार १४६ टन खाद्यान्न बचत भएको छ। कोदो उत्पादनको २० प्रतिशतभन्दा बढी मादक पदार्थ उत्पादनमा प्रयोग गरिएको छ।

जिल्लामा दुई हजार ६६० टन कोदो उत्पादन हुने गरेको छ। त्यसमध्ये करिब ५३१ टन जाँड–रक्सी उत्पादनमा प्रयोग हुने गरेको हो। दुई हजार ७०० टन मकै र १०५ टन धान मादक पदार्थ उत्पादनमा प्रयोग गर्ने गरिएको छ।

यही जिल्लामा एकातिर खाद्यान्न अभावले जंगली कन्दमूल खाएर जीविका धान्दै आएका समुदाय छन् भने अर्कोतिर खाद्यान्नलाई मादक पदार्थ बनाएर दुरुपयोग गर्ने समुदाय पनि उल्लेख्य रहेको कँडेलले बताए। कान्तिपुर दैनिकमा खबर छ।