Tuesday, 24, November, 2020

श्रम बजार: विदेशमा के कारण मरिराखेका छन् नेपाली?

नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेका छवटा खाडी मुलुक र मलेशियामा नेपाली कामदारहरूले आफ्नो कामको प्रकृतिअनुसार स्वास्थ्यमा ध्यान नपुर्‍याएकाले मृत्युका घटनाहरू बढेको पाइएको विज्ञहरूले बताएका छन्।

मुख्य रूपमा खानपानको असन्तुलन, कामको चाप र आवश्यक आराम नपुग्दा उनीहरूमा मुटु, मिर्गौला र फोक्सोको समस्या भएको पाइएको छ।

स्वास्थ्यसम्बन्धी यस्ता समस्याको निराकरण गर्न कामदारहरूलाई कार्यक्षेत्रमा कम्पनीबाट अनिवार्य अभिमुखीकरण हुनुपर्ने व्यवस्था गर्न पहल भइरहेको सरकारी अधिकारीहरूले बताएका छन्।

धेरै सङ्ख्यामा भइरहेको मृत्युको कारण व्यवस्थित रूपले केलाएर रोजगारदाता मुलुकसँग तलब र सुविधासँगै गुणस्तरीय स्वास्थ्यलाई प्राथमिकतामा राख्ने काम गर्न ढिलो भइसकेको विज्ञहरूको धारणा छ।

‘कहालीलाग्दो दशक

नेपाल सरकारले हालै सार्वजनिक गरेको तथ्याङ्कमा पछिल्लो पछिल्लो दशकमा ६,७०० भन्दा बढी नेपालीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थिए।

तीमध्ये झन्डै ११ सय जनाको कार्यक्षेत्र र सडक दुर्घटनाका कारण मृत्यु भएको देखिन्छ भने अरू अधिकांशको मृत्यु विभिन्न रोगका कारण भएको पाइएको छ।

चिकित्सकीय कागजपत्रमा ‘प्राकृतिक मृत्यु’ भनिएका अधिकांश घटनामा मृत्युको कारण पत्ता लगाउन नखोजी विनापरीक्षण नै त्यसको भनिएको एक अनुसन्धानकर्ताले बताएका छन्।

मृत्युका घटना थुप्रै वर्षको अन्तरालमा उस्तै पाइएपछि सरकारले यसअघि श्रममा जानुअघि गर्नुपर्ने दशघण्टे तालिमका हकमा ८६ प्रतिशतभन्दा धेरै नेपाली श्रमिकहरू रहेका खाडी मुलुक र मलेशियाका लागि त्यहाँको वातावरण अनुसार छुट्टै पाठ्यक्रम बनाउन लागिएको एक सरकारी अधिकारीले बताएका छन्।

वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ भन्छन्, “अहिलेसम्म कामका लागि विदेश जाने सबैले एकैखाले तालिम लिनेगर्थे। तर मलेशिया र कतारकै वातावरण फरक छ। तनावसँग कसरी जुझ्ने वा नयाँ परिवेशमा स्वास्थ्यको ख्याल कसरी गर्ने भन्ने व्यावहारिक कुरा नयाँ पाठ्यक्रममा छ।”

सरकारी विवरण अनुसार विदेशमा रहेका झन्डै दुईतिहाइ नेपाली कामदारहरू अदक्ष रहेको अवस्थाबीच थुप्रै घटनामा नेपालबाट सुषुप्त अवस्थामा रहेको रोग नौलो ठाउँमा पुग्दा बल्झिने गरेको समेत पाइएको विज्ञहरूले बताएका छन्।

कारण

राष्ट्रपति विद्यादेवी भण्डारी हालै कतार भ्रमणका क्रममा नेपाली श्रमिकहरूको स्वास्थ्यसुरक्षाको कुरा उठाउँदा कतारी पक्षले त्यसलाई सघाउ पुग्नेगरी कानुनहरू परिमार्जन गर्न लागिएको उत्तर दिएको थियो।

अङ्गभङ्ग हुँदा वा कोमामा रहँदाका सास्ती अर्को विकराल समस्याको रूपमा देखिएको छ।

वैदेशिक श्रम मामिलाका विज्ञ प्राध्यापक गणेश गुरूङ भन्छन् – प्रारम्भिक लक्षणहरू देखिनासाथ उपचार भएको भए नियन्त्रणमा आउन सक्ने अवस्थामा समेत श्रमिकको अज्ञानता वा रोजगारदाता कम्पनीले त्यस्तो सुविधा उपलब्ध नगराउँदा मृत्युदर बढेको पाइएको छ।

उनी भन्छन्, “हामीले सधै तलब र सुविधाको कुरा मात्र गर्‍योौँ , तर स्वास्थ्यलाई प्राथमिकतामा राखेनौँ। धेरै रोगहरू चरम गर्मीमा काम गर्ने तर पानी पर्याप्त नपिउँदा निम्तिएका छन्।”

सबैभन्दा बढी मृत्यु मलेशियामा भएको पाइएपछि सरकारले गत वर्ष असारमा चिकित्सकहरूको एउटा अध्ययन टोली नै पठाएको थियो।

सयौँका सङ्ख्यामा भएका मृत्युलाई सामान्यीकरण गरेर हेर्न नसकिए पनि उक्त टोलीले समेत त्यसको एउटा प्रमुख कारण श्रमिकहरूको खानपान र रहनसहन गुणस्तरीय हुन नसक्नुलाई औँल्याइएको उक्त अध्ययन दलका एक सदस्य पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर केदार बराल बताउँछन्।

“बाह्र घन्टा काम गर्छन्। तर एउटै खाले खाना छ, भात र कुखुराको मासु। एक-दुई पटकलाई त्यो ठिक हो, तर शरीरलाई फलफूल र सागपात आदि अन्य थुप्रै कुरा चाहिन्छ जुन नेपाली श्रमिकले पाउन सकिराखेका छैनन्।”बीबीसी नेपाली सेवाबाट साभार