Saturday, 28, November, 2020

यी एयरहोस्टेस जसले उडिरहेको विमानमा अर्कैको बच्चालाई आफ्नो स्तनपान गराइन्

मनिला। उडिरहेको विमानमा रोइरहेका एक नवजात शिशुलाई दूध खुवाउने एयरहोस्टेस सामाजिक संजालमा निकै चर्चित भएकी छिन् । उनको सामाजिक संजालमा प्रशंशा भइरहेको छ । यो नवजात शिशु ती एयरहोस्टेसको पनि होइन । विमानमा यात्रा गरिरहेकी एक महिला यात्रुसँग पाउडर दूध सकिएपछि यी एयरहोस्टेसले ती महिला यात्रुको सहयोग गरेकी हुन् ।

२४ वर्षकी एयरहोस्टेस पत्रिशा ओरगानो आफैं ९ महिनाको बच्चाकी आमा हुन् । उनले फेसबुकमा यो घटनाबारे उल्लेख गर्दै एक पोस्ट शेयर गरेकी छिन् । पत्रिशाका पोस्टमा लेखिएअनुसार ‘फ्लाइट टेकअफ हुँदासम्म सब ठिक थियो । उडानको बीचमा बच्चा रुन थाले । त्यसपछि मैले आमालाई दूध खुवाउन भनें । आमाले आफूसँग पाउडर दूध सकिएको बताइन् । एयरलाइन्ससँग पनि उडिरहेको विमानमा दूध उपलब्ध गराउने व्यवस्था थिएन । आसपास बसेका यात्रु बच्चा रोएपछि समस्यामा परे । यसले मलाई निकै दुःख लाग्यो । त्यसपछि मैले बच्चालाई आफ्नै दूध खुवाएँ ।’

पत्रिशाको पोस्ट अहिलेसम्म ३५ हजार भन्दा धेरैपटक शेयर गरिएको छ । यो घटना हुँदा पत्रिशा एयरलाइन्समा एभ्यालुएटर पदको लागि परीक्षा दिँदै थिइन् । एयरलाइन्सले उनलाई उडानपछि यो पदको लागि प्रमोसन गरिदिएको छ । पत्रिशाले भने आफ्नो यो सहयोग प्रमोशनको लागि नभइ एक अञ्जान यात्रुको मद्दतको लागि विशेष रह्यो ।