Saturday, 02, July, 2022

परदेशमा युवाको अकालमै मृत्यु, लास अझै अलपत्र

विशाल बस्नेत (युएइ)


१४ महिना अगाडी युएइको पाटी सेन्टर भन्ने एक कम्पनीमा काम गर्न आएका झापा काकरभित्ताका युवा बिक्रम तामाङको मृत्यु भएको छ ।

गत आइतबार सुत्नुभन्दा अगाडी स्वास्थ्यमा कुनै समस्या नभएतापनी अचानक सुतेकै ठाउँमा मृत्यु भएको एउटै कोठामा बस्ने उनका साथीहरुले बताएका छन ।

“गत आइतबार बिक्रम हामीसँगै कुरा गरेर सुतेको थियो तर बिहान उठ्दा नसोचेको भयो ।” उहीँ कोठामा बस्ने उन्का साथी झापाकै सुर्य बुढाथोकीले बताए ।

मृतकको परिवारलाइ उनकै साथीहरुले जानकारी समेत गराएका छन । ” हामीले वाहाको परिवारलाइ खबर त गर्‍यौ तर अझै पत्याउनु भएको छैन । सानै २२ बर्षकै उमेरमा भएको मृत्यु सबैलाइ अप्रत्यारिलो नै हुनसक्छ तर हाम्रै अगाडी भएको घटनाले हामी समेत अत्यन्त मर्माहत छौ ।” उनकै गाउँ नजिकैका दाइ पर्ने भवानी बिक्रम स्याङ्तानले बताए ।

तामाङको दु:खद मृत्युले आफुहरु अत्यन्त दुखी भएको बताउदै लासलाइ सकेसम्म छिटो आफन्तहरुको जिम्मा लगाइदिन उनका साथीहरुले अनुरोध पनि गरेका छन् ।

यता उनी काम गर्ने कम्पनी पाटी सेन्टरसँग बुझ्दा युएइस्थित नेपाली दुताबासलाइ मृतकको मृत्युको बिषयमा जानकारी दिसकिएको पनि बताइएको छ । तर मृत्यु भएको ६ दिन बितिसक्दा पनि लास कहिलेसम्म नेपाल पठाउने भन्ने बिषयमा अझै अन्योल छ ।

मृतकको लासलाइ पोष्टमार्टमका लागी आइतबार नै रसिद हस्पिटल समेत लगिएको थियो । पोष्टमार्टमपछी रसिद हस्पिटलले आफ्नो रिपोर्टमा उनको मृत्युलाई प्राकृतिक मृत्यु भएको निष्कर्ष निकालेको छ ।

त्यसैगरी प्रहरीले पनि तामाङको मृत्युको सम्बन्धमा आबस्यक अनुसन्धान गरिरहेको बताइएको छ । उनको अचानक भएको मृत्युकै बिषयमा बुझ्नका लागी तामाङकै कोठामा बस्ने सुर्य बुढाथोकीलाइ प्रहरीले सोधपुछको लागी भन्दै बोलाएको थियो । सामान्य सोधपुछपछी आबस्यक परेमा फेरी पनि बोलाउने भन्दै छाडेको बुढाथोकी स्वयंले बताए ।

उनी नेपालस्थित कुनचाही मेनपावरबाट आएका हुन भन्ने खुल्न सकेको छैन । एउटै कोठामा बसेतापनी फरक-फरक कम्पनीमा काम गर्ने भएकाले आफुहरुलाइ कुन मेनपावरबाट आएको हो भन्ने कुनै जानकारी नभएको उनिहरुले बताए ।

“हामी अतितका कुरा भन्दा पनि निक्कै बेर भबिष्यका कुरा गरेर बिताउथ्यौ बास्तबमै उस्का ठुला-ठुला सपनाहरु थिए । अलिकती पैसा जम्मा गरेर छिट्टै नेपाल गएर केही गर्ने उस्को ठूलो योजना थियो तर पूरा हुन सकेन ” उन्को गाउँकै नजिकका दाइ पर्ने भवानीबिक्रम स्याङ्तानले भावुक हुँदै भने ।

उनको आत्माको चिरसान्तीको लागी सबै साथी मिलेर दिपप्रज्वलन समेत गरेको गरेको उनले बताए ।